काठमाडौं । जेनजी आन्दोलनका क्रममा सत्ताच्यूत भएपछि पनि एमाले अध्यक्ष केपी ओलीको रवाफ उस्तै छ । उनमा सत्ताच्यूत हुँदाको पीडाबाहेक आन्दोलन किन र कसरी भयो, यसको दूरगामी प्रभाव के पर्छ भन्ने कुनै चिन्तन र विश्लेषण छैन ।
ओलीले शनिबार पहिलोपटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सुशीला कार्की नेतृत्वको सरकार संवैधानिक बाटोबाट नभइ तोडफोड, आगजनी र हाहुबाट आएको दाबी गरे ।
एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले शनिबार भक्तपुरको गुण्डुमा बडादशैँको अवसरमा भेटघाट कार्यक्रम गरेको थियो । जसमा ओली सरकारसँग निकै आक्रोशित देखिए । जबकि कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न उनले नै पत्र पठाएको र राष्ट्रपति रामचन्द्र पौडेलले सोही पत्रअनुसार नयाँ सरकार गठनको आह्वान गरेका थिए ।
जेनजी आन्दोलनका बेला प्रधानमन्त्री ओली बालुवाटारबाट भागे । एमाले पार्टी कार्यालय जलाइयो । आफ्नो घरसमेत जलेपछि ओली सुरक्षाघेराबाट निस्केर भक्तपुरको गुन्डुमा बस्दै आएका छन् । गुन्डुमै बसेर ओलीले राजनीतिक गतिविधि मात्र अघि बढाएका छैनन्, अब त्यहीँबाट पार्टी सञ्चालन गर्ने भएका छन् । पार्टी नेता महेश बस्नेतको सुरक्षामा ओलीले पार्टी सञ्चालन गर्न थालेका छन् ।
सोहीअनुसार एमालेको सचिवालय बैठक आइतबार बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी ओलीको निवास भक्तपुर गुन्डुमा बस्ने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।
बैठकमा जेनजी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ । बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ ।







