काठमाडौं । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीलाई खोजी गरी पक्राउ गर्ने उद्देश्यले सरकारले विशेष कार्यदल गठन गरेको छ । गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, सुरक्षा निकाय, अध्यागमन विभाग, प्रमुख जिल्ला अधिकारी तथा सरोकारवाला निकायहरूको समन्वयमा फरार कैदी फिर्ता ल्याउने कार्य जारी रहेको भए पनि अझै उल्लेख्य संख्यामा कैदी कारागार बाहिर रहेको मन्त्रालयले जनाएको छ ।
यसलाई मध्यनजर गर्दै गृह मन्त्रालय (मन्त्रीस्तर) को निर्णयअनुसार प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा “फरार बन्दी खोजी तथा पक्राउ कार्यदल” गठन गरिएको हो । कार्यदलमा सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधि रहनेछन् ।
मन्त्रालयले असोज २० गतेसम्म कैदीबन्दीहरू स्वेच्छाले फर्किनुपर्ने र सो म्यादभित्र नफर्के कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिएको छ । साथै, कार्यदललाई दैनिक अभिलेख अद्यावधिक गर्ने, बाँकी कैदीबन्दीको नामावली सार्वजनिक गर्ने, सीमा नाका, विद्यालय, टोल, बसपार्क, मनोरञ्जन स्थलजस्ता ठाउँमा निगरानी बढाउने कार्यादेश दिइएको छ ।
भागेका कैदीबन्दीबारे सूचना उपलब्ध गराउन सर्वसाधारणलाई आव्हान गरिएको छ । त्यस्ता जानकारीका लागि कार्यदल वा सुरक्षा निकायको टेलिफोन वा इमेल सार्वजनिक गरिने गृह मन्त्रालयले जनाएको छ ।












