काठमाडौं। दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर तीनदिने औपचारिक भ्रमणका लागि सोमबार (वैशाख ७) नेपाल आउने भएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा नयाँ सरकार गठन भएपछि उनको यो पहिलो उच्चस्तरीय कूटनीतिक भ्रमण हुने भएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल बसाइका क्रममा कपुरले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग द्विपक्षीय सम्बन्ध, सहकार्य र समसामयिक विषयमा छलफल गर्नेछन्।
प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटघाट भने अझै तय भइसकेको छैन। भेटको समय र मिति छिट्टै निश्चित हुने अपेक्षा गरिएको छ।भ्रमण तालिकाअनुसार कपुर वैशाख ९ गते स्वदेश फर्कनेछन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार फागुन २१ गते सम्पन्न निर्वाचनपछि झन्डै दुईतिहाइ सिट जितेर बनेको रास्वपा नेतृत्वको सरकारसँग सम्बन्ध सुदृढ गर्ने उद्देश्यले अमेरिकी पक्षबाट यो भ्रमण हुन लागेको हो। यस भ्रमणलाई नेपाल–अमेरिका सम्बन्धको सुदृढीकरणका दृष्टिले महत्वपूर्ण मानिएको छ।






