काठमाडौं । कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.३५ अंक घटेर २६५२.०० विन्दुमा झरेको छ।
दशैँ बिदाअघि अब एक कारोबार दिन मात्र बजार खुल्नेछ। दोस्रो बजारको कारोबार रकम सवा तीन अर्बमा सीमित भएको छ।

अघिल्लो कारोबार दिन चार अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा आज ३२७ स्टकको ३७ हजार ५६२ पटकको कारोबारमा तीन अर्ब २६ करोड चार लाख ४० हजार रुपैयाँबराबरको ७९ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ९० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। युनियन हाइड्रोपावरको करिब साढे १८ करोड, हिमालयन रिइन्स्योरेन्सको कारोबार रकम ११ करोड रुपैयाँ नाघेको छ।

हिमस्टार ऊर्जा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ६३ रुपैयाँ ६९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। १०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर २०८६ को मूल्य ८ प्रतिशत बढेको छ भने कालिका पावर कम्पनीको सेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। कारोबारमा आएको सिटी होटलको शेयरमूल्य यस दिन सर्वाधिक ७.५५ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३६ प्रतिशत बढेको छ। यस दिन बैंकिङ, लगानी र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो।