काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १११ अंकले बढेर २६२३.६२ विन्दुमा कायम भएको छ ।

जेनजी आन्दोलनपछि पहिलोपटक गत बिहीबार नकारात्मक सर्किट लागेर बन्द भएको सेयर बजारमा यो साता हरियाली देखिएको हो। सरकारले पुँजीबजार सुधारका लागि प्रयास गर्न थालेसँगै लगानीकर्ता केही विश्वस्त देखिएका छन्।

आज २२४ कम्पनीको सेयर मूल्य बढेको र २८ कम्पनीको सेयर मूल्य घटेको छ। दुई करोड कित्ता सेयर किनबेच हुँदा बजारमा नौ अर्ब १७ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ।

ADVERTISEMENT

सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सको ८३ करोडबराबरको सेयर कारोबार भएको छ । त्यसपछि हिमालयन रिइन्स्योरेन्सको ४८ करोड, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ३० करोड, शिवम् सिमेन्टको २७ करोड र हिमालयन डिस्टिलरीको २४ करोड बराबरको सेयर कारोबार भएको छ ।

ADVERTISEMENT

पाँचवटा कम्पनीको मूल्यमा १० प्रतिशत सकारात्मक सर्किट लागेको छ । जसमा सिन्धु विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट, गुडविल फाइनान्स, शिवम सिमेन्ट र जोशी हाइड्रोपावर लिमिटेड छन् ।

ADVERTISEMENT

पछिल्लो आन्दोलन र राजनीतिक घटनाक्रमका कारण अघिल्लो साता मंगलबारदेखि बन्द रहेको सेयर कारोबार गतसाता बिहीबारदेखि खुलेको हो। बिहीबार कारोबार सुरु हुनासाथ ओरालोतिर लागेको बजार दुई मिनेटमै चार प्रतिशतले घटेर पहिलो सर्किट ब्रेक लागेको थियो। त्यसपछि पनि दोस्रो र तेस्रोपटक नकारात्मक सर्किट ब्रेक लागेर बजार बन्द भएको थियो।

गत साता बिहीबार पहिरो गएको बजार १६०.३३ अंकले घटेर बजार २५११.९१ बिन्दुमा झरेको थियो। जहाँ जम्माजम्मी पाँच मिनेटमात्र बजार चल्दा ७२ करोड रुपैयाँको मात्र कारोबार भएको थियो। नेपाल धितोपत्र बोर्डले नेप्से सूचकांकको अन्तिम मूल्य गणनाका लागि लागू गरिएको १५ मिनेटको भारित औसत मूल्य निर्धारण विधिलाई आइतबारदेखि स्थगनसमेत गरेको छ। भारित औसत मूल्य निर्धारण हुँदा बजारको प्राकृतिक घटबढमा असर परिरहेको भन्दै त्यसको विरोध भइरहेको थियो।

नयाँ चुनावी सरकार बनेकाले चुनावसम्म बजारले आफ्नो गति समात्ने अनुमान विश्लेषकहरूले गरिरहेका छन्। सरकारले पुँजी बजारको मनोबल बढाउनका लागि गर्नुपर्ने निर्णयका बारेमा सुझाव दिन कार्यदलसमेत गठन गरेको छ। धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा अर्थ मन्त्रालयले चार सदस्यीय कार्यदल बनाएको हो। कार्यदलले पुँजी बजारको मनोबल बढाउन तथा प्रणालीगत सहजीकरणका लागि के कस्तो काम गर्न सकिन्छ भन्ने सुझाव दिनेछ।