काठमाडौं । प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मानव अधिकार संरक्षणको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ ।
आयोगका अनुसार शुक्रबार प्राप्त उजुरी दर्ता गरिएको छ । सापकोटाकी पत्नी कविता पाण्डेले उनको मानव अधिकार संरक्षणको माग गर्दै आयोगमा उजुरी दिएकी हुन् ।
सापकोटा नेपालमा न्यायालय, सुरक्षा निकाय र राजनीतिक वृत्तमा बिचौलियाको भूमिका खेलेको आरोपमा अनुसन्धानमा तानिएका छन् ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइल जाँचका क्रममा अदालतका मुद्दा मिलाइदिने तथा प्रहरीको बढुवामा सहयोग गर्ने आश्वासन दिइएका सन्देश फेला परेको भनिएपछि सापकोटामाथि अनुसन्धान अघि बढाइएको हो ।
यसैबीच, हिरासतमा रहेका सापकोटाको मानव अधिकार संरक्षणको मागसहित आयोगमा उजुरी परेपछि आयोगले यस विषयमा आवश्यक प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ ।












