काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन समयमै निर्माण तथा सुधार हुन नसक्दा निर्वाचन व्यवस्थापनमा थप चुनौती सिर्जना भएको जनाएको छ । आयोगले कृत्रिम बुद्धिमत्ता (एआई), साइबर सुरक्षा र सामाजिक सञ्जालबाट फैलिने गलत तथा भ्रामक सूचनालाई निर्वाचनका नयाँ चुनौतीका रूपमा औँल्याएको छ ।
शुक्रबार ललितपुरमा आयोजित आयोगको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको मध्यावधि मूल्याङ्कनका लागि सरोकारवालासँग गरिएको परामर्श छलफलमा आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन् ।
उनले निर्वाचन प्रणालीमा प्रविधिको प्रयोग बढ्दै जाँदा एआईको दुरुपयोग, साइबर आक्रमण तथा सामाजिक सञ्जालमार्फत फैलिने गलत र भ्रामक सूचनाको चुनौती पनि बढेको बताए । यस्ता चुनौती सम्बोधन गर्न आवश्यक कानुनी व्यवस्था समयमै निर्माण हुन नसक्दा निर्वाचन व्यवस्थापनमा समस्या आउन सक्ने उनको भनाइ छ ।
भट्टराईले निर्वाचनसम्बन्धी कानुन सुधार, २०८४ सालमा हुने विभिन्न तहका निर्वाचनको पूर्वतयारी, प्रविधि तथा साइबर सुरक्षाको सुदृढीकरण र आयोगको संस्थागत क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
उनका अनुसार देशभरका सबै मतदान केन्द्रको भू–स्थान (जिओ लोकेसन) पहिचान भइसकेको छ । भू–सूचना प्रणालीसमेत अद्यावधिक गरिएको छ । अब मतदान केन्द्रको थप स्तरीकरण गरी त्यहाँ उपलब्ध पूर्वाधारको अवस्थासमेत मूल्याङ्कन गर्न सकिने गरी काम अघि बढाइएको उनले जानकारी दिए ।
निर्वाचनका लागि आवश्यक स्रोतसाधन र शान्ति सुरक्षाको व्यवस्थापनमा आयोग संघीय सरकारमा बढी निर्भर रहेको पनि उनले बताए । यसलाई थप व्यवस्थित बनाउन टास्क फोर्स तथा स्थानीय तहको समन्वयमा मतदाता शिक्षा सञ्चालन र निर्वाचनसम्बन्धी गतिविधि प्रभावकारी बनाउने रणनीति रहेको उनको भनाइ छ ।
आयोगले आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मका लागि चौथो पञ्चवर्षीय रणनीतिक योजना तयार गरेको हो । उक्त योजनाको पहिलो दुई वर्षको मध्यावधि मूल्याङ्कनका क्रममा हालसम्म २४ प्रतिशत क्रियाकलाप मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको भट्टराईले जानकारी दिए ।
निर्वाचन कानुन निर्माण, प्रविधिको सुरक्षित प्रयोग, मतदाता शिक्षा र संस्थागत क्षमता विकासलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको आयोगको भनाइ छ ।












