काठमाडौं । पश्चिमी वायु र भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण आज देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशसहित देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी र मधेश प्रदेशसहित गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
राति देशका हिमाली भूभाग, कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
त्यस्तै, कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।












