काठमाडौं । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले आज अधिकांश भूभागको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि, कोशी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा छ भने तराई, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसो कोशी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै, आज राति कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई, उपत्यका र खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।
रातिको समयमा पनि कोशी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।












