काठमाडौँ । चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को लगातार तेस्रो सिजन फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमलाई जित दिलाउन थरिन्दु रत्नायकेले अविजित ५३ रनको महत्त्वपूर्ण योगदान दिए । उनले दबाबपूर्ण अवस्थामा संयमित ब्याटिङ गर्दै टोलीलाई लगातार तेस्रो पटक उपाधि भिडन्तमा पुर्याए ।
कप्तान दीपेन्द्रसिंह ऐरीले १३ बलमा एक चौका र दुई छक्काको मद्दतमा २३ रन बनाए । उनी सलाहुद्दिन खानको बलमा विकेटकिपरबाट क्याच आउट भए ।
ओपनर विनोद भण्डारीले २३ रन जोडे । उनी रञ्जित कुमारको बलमा क्याच आउट भए । इशान पाण्डेले १० रन बनाउँदा आरिफ शेखले पनि १० रनको योगदान दिए । दुवै क्रमशः रञ्जित कुमार र कमल सिंह ऐरीको बलमा आउट भए ।
जर्ज मुन्सेले ८ रन बनाए । उनी रिजन ढकालको बलमा क्याच आउट भए ।बलिङतर्फ चितवनका रञ्जित कुमारले सर्वाधिक दुई विकेट लिए । कमल सिंह ऐरी, सलाहुद्दिन खान, रिजन ढकाल र उसामा मिरले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका लागि डाविड मलानले अविजित ७१ रन बनाएका थिए । उनले ५१ बलमा नौ चौका र दुई छक्का प्रहार गरेका थिए ।
यस जितसँगै सुदूरपश्चिमले उपाधिका लागि शनिबार लुम्बिनी लायन्ससँगको भेट पक्का गरेको छ । लुम्बिनी र सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा आमनेसामने हुनेछन् । फाइनल खेल मंसिर ६ गते कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो । लिग चरणमा पनि सुदूरपश्चिमले लुम्बिनीसँग सात विकेटको हार बेहोरेको थियो । दोस्रो क्वालिफायर जित्दै सुदूरपश्चिमले उपाधि जित्ने अर्को अवसर सुरक्षित गरेको छ ।
अर्कोतर्फ, पहिलो पटक क्वालिफायरसम्म पुगेको चितवनको उपाधि यात्रा भने दोस्रो क्वालिफायरमै समाप्त भएको छ ।












