काठमाडौँ । कमिल मिशाराको शानदार शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको एलिमिनेटरमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमान्डुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

ADVERTISEMENT

यस जितसँगै चितवनले फाइनल प्रवेशको सम्भावना कायम राखेको छ । उसले अब बिहीबार हुने दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग खेल्नेछ । लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।

ADVERTISEMENT

मिशाराको अविजित १२० रन

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कमिल मिशाराको अविजित शतकको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनायो ।

मिशाराले ५९ बलमा ५ चौका र १० छक्का प्रहार गर्दै अविजित १२० रन बनाए । यो उनको टी–२० करियरको तेस्रो शतक हो । उनको इनिङ्सकै मद्दतमा चितवनले यस सिजन एनपीएलमा आफ्नो उच्च स्कोर बनाएको छ । यसअघि लिग चरणमा काठमान्डुविरुद्ध नै बनाएको १७० रन चितवनको उच्च योगफल थियो । उक्त खेलमा चितवन १० रनले पराजित भएको थियो ।

मिशारालाई कप्तान रवि बोपाराले उत्कृष्ट साथ दिए । बोपाराले ४२ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५३ रन बनाए । यी दुईबीच तेस्रो विकेटका लागि १५४ रनको साझेदारी भयो । यो चितवनको एनपीएल इतिहासकै उच्च साझेदारी तथा प्रतियोगिताकै तेस्रो ठूलो साझेदारी हो ।

चौथो ओभरमा कप्तान करण केसीले देव खनाल र डाविड मालानलाई लगातार आउट गरेपछि चितवन २२ रनमा २ विकेटको अवस्थामा पुगेको थियो । देवले १७ रन बनाए भने मालान पहिलो बलमै आउट भए ।

त्यसपछि मिशारा र बोपाराले इनिङ्स सम्हाल्दै ठूलो साझेदारी गरे । १९औँ ओभरको तेस्रो बलमा रासिद खानले बोपारालाई बोल्ड गरेपछि यो साझेदारी टुटेको थियो । त्यसपछि विवेक यादवले ३ बलमा २ चौकासहित ८ रन जोडे । काठमान्डुका करण केसी र रासिद खानले समान २ विकेट लिए ।

यस सिजन एनपीएलमा कुनै पनि टोलीले २०० रनभन्दा बढी बनाएको यो तेस्रो अवसर हो । यसअघि पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध २१७ र काठमान्डुविरुद्ध २२४ रन बनाएको थियो ।

काठमान्डुको ब्याटिङ कमजोर

२०५ रनको लक्ष्य पछ्याएको काठमान्डुले सुरुदेखि नै नियमित विकेट गुमायो । ओपनर साहिल पटेल दोस्रो ओभरमै २ रन बनाएर आउट भए । त्यसपछि विलियम बोसिस्टो र साम हिजलेटले २५ रनको साझेदारी गरे । तर हिजलेट पाँचौँ ओभरमा ३ रनमै आउट भएपछि काठमान्डु ३० रनमा २ विकेटको अवस्थामा पुग्यो ।

बोसिस्टोले रासिद खानसँग तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे पनि त्यसपछि काठमान्डुको ब्याटिङ सम्हालिन सकेन । बोसिस्टो, रासिद र सहान अराचिगेको विकेट गुमाउँदा काठमान्डुले ९२ रनमा ६ विकेट गुमाइसकेको थियो ।

काठमान्डुका लागि बोसिस्टोले २८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए । दशौँ नम्बरमा ब्याटिङ गर्न आएका भीम शार्कीले १७ बलमा ३ छक्कासहित अविजित ३० रन जोडे । सहान अराचिगेले २४ र रासिद खानले १२ रन बनाए ।

काठमान्डुका कप्तान करण केसी र जहानदाद खानले समान १ रन बनाए । सोनु देवकोटाले ६ तथा सन्तोष यादवले १० रन जोडे ।

चितवनका रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । उसामा मिरले ४ ओभरमा १५ रन दिएर ३ विकेट हात पारे । कुशल मल्ल र सलाउद्दिन खानले समान १ विकेट लिए ।