काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना योग्य ग्राहकलाई मोबाइल एपबाटै दुई लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने ‘NBL Foneloan’ सेवा सुरु गरेको छ ।

बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा NBL BankSmart XP मोबाइल बैंकिङ एपमार्फत नयाँ डिजिटल कर्जा सेवा सञ्चालनमा ल्याइएको हो । Foneloan Pvt. Ltd. द्वारा सञ्चालित यो सेवाबाट ग्राहकले कुनै धितो, कागजी प्रक्रिया वा बैंक शाखा नगई मोबाइलबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन् ।

ADVERTISEMENT

बैंकका अनुसार ग्राहकको कर्जा सीमा तथा योग्यता बैंकले निर्धारण गरेका मापदण्डका आधारमा तय हुनेछ । यसमा तलब जम्मा हुने नियमितता, हालको कर्जा दायित्व र विगतको कर्जा चुक्ता गर्ने व्यवहारलाई आधार मानिनेछ ।

ADVERTISEMENT

सेवामार्फत लिएको कर्जा ग्राहकले एक महिनाभित्र वा १२ महिनासम्मको किस्ताबन्दी (ईएमआई) मा चुक्ता गर्न सक्नेछन् । कर्जा अवधि पूरा हुनुअघि नै भुक्तानी गर्न चाहने ग्राहकका लागि पूर्वभुक्तानीको सुविधा पनि उपलब्ध हुनेछ ।

बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गरिरहेका र तोकिएको योग्यता तथा दर्ता प्रक्रिया पूरा गरेका ग्राहकले NBL BankSmart XP एपबाटै यस सेवामा पहुँच पाउनेछन् ।

नेपाल बैंकका प्रमुख प्रबन्धक तथा रिटेल क्रेडिट विभागका अर्जुनबहादुर कँडेलले सुरक्षित, सहज र पूर्ण डिजिटल कर्जा समाधान उपलब्ध गराउनु सेवाको मुख्य उद्देश्य रहेको बताए ।

उनका अनुसार प्रविधिको प्रयोगमार्फत वित्तीय सेवामा पहुँच विस्तार गर्नु र ग्राहकलाई सरल तथा सुविधाजनक बैंकिङ सेवा प्रदान गर्नु बैंकको प्राथमिकता हो । ९०औँ वार्षिकोत्सवका अवसरमा नयाँ प्रविधि अवलम्बन गर्दै डिजिटल बैंकिङलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

बैंकले नयाँ सेवाबाट ग्राहक सुविधामा वृद्धि हुनुका साथै डिजिटल माध्यमबाट औपचारिक कर्जामा पहुँच विस्तार हुने विश्वास लिएको छ ।