काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सञ्चालन गरेको सिटिजन्स म्युचुअल फण्ड–२ ले सात वर्षे अवधि पूरा गर्दै इकाईधनीलाई औसत वार्षिक १०.४० प्रतिशत नगद लाभांश प्रदान गर्न सफल भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको उक्त बन्दमुखी सामूहिक लगानी कोषको खारेजी प्रक्रिया सम्पन्न भएको छ । ५६ करोड रुपैयाँ कोष आकार रहेको योजना २०७६ असार २२ गतेदेखि सञ्चालनमा आएको थियो । यसले २०८३ असार २१ गते सात वर्षे अवधि पूरा गरेको हो ।
योजनाले सञ्चालन अवधिभर इकाईधनीलाई वार्षिक नगद लाभांश वितरण गर्दै औसत १०.४० प्रतिशत वार्षिक प्रतिफल दिएको कम्पनीले जनाएको छ । खारेजी प्रक्रिया पूरा भएसँगै इकाईधनीलाई फिर्ता गर्नुपर्ने रकम वितरणसमेत सुरु गरिएको छ ।
नेपाली धितोपत्र बजारमा देखिएका उतारचढाव, बजार मूल्यमा आएको गिरावट र चुनौतीपूर्ण लगानी वातावरणका बाबजुद निरन्तर प्रतिफल दिन सफल भएको कम्पनीको दाबी छ ।
यसअघि परिपक्व भएको सिटिजन्स म्युचुअल फण्ड–१ मार्फत पनि औसत वार्षिक १२ प्रतिशत प्रतिफल प्रदान गरिएको कम्पनीले जनाएको छ ।
अब १ अर्बको सिटिजन्स सुपर ५० आउँदै
सिटिजन्स क्यापिटलले नयाँ बन्दमुखी सामूहिक लगानी कोष योजना ‘सिटिजन्स सुपर ५०’ सञ्चालनमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको उक्त योजनाको इकाई निष्कासन मंसिर २ गतेदेखि सुरु हुने कम्पनीले जनाएको छ ।
१० वर्षे अवधि रहेको यस योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ तोकिएको छ । माग तथा आवेदनको अवस्थाअनुसार योजनाको आकार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म पुर्याउन सकिने व्यवस्था छ । यसमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
हाल सिटिजन्स क्यापिटलले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना र सिटिजन्स सन्तुलित योजनासहित विभिन्न सामूहिक लगानी कोष व्यवस्थापन गरिरहेको छ ।
कम्पनीले इक्रा नेपालबाट ‘एएमसी क्वालिटी थ्री प्लस’ रेटिङ प्राप्त गरेको जनाएको छ । विगतका योजनाबाट प्राप्त अनुभव र संस्थागत क्षमताको उपयोग गर्दै नयाँ योजनाको लगानी व्यवस्थापनलाई व्यवस्थित, अनुशासित र व्यावसायिक बनाउने कम्पनीको लक्ष्य छ ।
सिटिजन्स क्यापिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सविर बादे श्रेष्ठ रहेका छन् ।












