काठमाडौं । नेपाली चलचित्र ‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। कुमार गजुरेलको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र आगामी मंसिर ११ गते (नोभेम्बर २७) देखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने भएको छ।

सार्वजनिक पोस्टरमा म्याग्दीको गुर्जा क्षेत्रको हिमाली परिवेश, प्राकृतिक सौन्दर्य र चलचित्रका मुख्य पात्रलाई प्रस्तुत गरिएको छ। पोस्टर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको चासो बढ्ने निर्माण पक्षको अपेक्षा छ।

ADVERTISEMENT

चलचित्रमार्फत गिरि विश्वकर्मा र गायत्री जोशी नव नायक तथा नव नायिकाका रूपमा दर्शकमाझ आउनेछन्। चलचित्रमा निरुता सिंह र उत्तम प्रधानको पनि अभिनय रहेको छ। करिब दुई दशकपछि निरुता र उत्तमलाई एउटै चलचित्रमा देख्न पाइने भएकाले उनीहरूको पुनर्मिलनलाई चलचित्रको विशेष आकर्षणका रूपमा हेरिएको छ।

ADVERTISEMENT

चलचित्रमा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापालगायत कलाकारको पनि अभिनय रहेको छ।

तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको चलचित्र किम्भे प्रोडक्सनको निर्माण तथा धिरज इन्फिनिटी फिल्म्सको सहकार्यमा तयार भएको हो। चलचित्रका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। कार्यकारी निर्मातामा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ तथा सहनिर्मातामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा रहेका छन्।

चलचित्रको छायांकन संकल्प भुजेलले गरेका छन् भने सम्पादन तारा थापा ‘किम्भे’को रहेको छ। चलचित्रमा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत तथा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ। गीतमा बाबुल गिरी, प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको छ। चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।

म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको ‘सारथी’ले हिमाली जनजीवन, स्थानीय संस्कृति, परम्परा, सामाजिक सम्बन्ध र मानवीय संवेदनाका विषयलाई समेटेको निर्माण पक्षले जनाएको छ।

पोस्टर सार्वजनिक भएसँगै चलचित्रको प्रचारप्रसारले थप गति लिने निर्माण टिमको विश्वास छ। नयाँ कलाकार र स्थापित कलाकारको संयोजनले दर्शकमाझ चलचित्रप्रति उत्सुकता बढाउने अपेक्षा गरिएको छ।