काठमाडौं । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘सिन्दूर’ मा अभिनेता विपिन कार्की र अभिनेत्री निरुता सिंहको प्रवेश भएको छ । हाल दाङमा फिल्मको छायांकन भइरहेको छ ।
फिल्मको छायांकन सुरु हुँदा अभिनेता पुष्प खड्का र अभिनेत्री प्रशंसा रायमाझीको नाम सार्वजनिक गरिएको थियो । निर्देशक सुनारका अनुसार निरुताले केही दिनमै छायांकन सुरु गर्नेछिन् भने विपिनले दशैंपछि फिल्मको सुटिङ थाल्नेछन् ।
फिल्ममा विपिन र निरुताको भूमिका भने निर्माण पक्षले खुलाएको छैन । फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छैन । सामाजिक कथावस्तुमा आधारित फिल्मले महिलाका लागि सिन्दूरको महत्त्वलाई कथाको केन्द्रमा राखेको निर्देशक सुनारले बताएका छन् ।
फिल्मको निर्देशनसँगै लेखन पनि सुनारकै रहेको छ । फिल्ममा सञ्जिव सार्कीको लगानी र दिनेश सिंह महराको कार्यकारी निर्माण रहेको छ । संकल्प भुजेलको छायांकन रहेको फिल्ममा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत छ ।
प्रकाश हमाल निर्माण प्रमुख रहेको फिल्ममा करणबहादुर साउद मुख्य सहायक निर्देशक र रामजी लामिछाने नृत्य निर्देशक छन् । रोहित वली र विकेश लामा प्रोडक्सन म्यानेजर, एनबी महर्जन एक्सन निर्देशक तथा मदन सुरखेती सह–लेखकका रूपमा जोडिएका छन् ।
कस्तुरी प्रोडक्सन प्रालिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रालिको सहकार्यमा निर्माण भइरहेको फिल्मको छायांकनका लागि एक महिनाको सेड्युल तय गरिएको छ ।







