काठमाडौँ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत आज पनि बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ।

कार्यक्रमअन्तर्गत बुधबार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन लागिएको हो। मंगलबार पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको थियो।

ADVERTISEMENT

स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने बताए।

ADVERTISEMENT

अभिभावकहरुले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा समय मिलाएर लगेर ती औषधि खुवाउन उनले आग्रह गरे।

कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिएका छन्। सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि विस २०५० देखि भिटामिन ‘ए’ क्याप्सुल र विस २०५६ देखि जुकाको औषधि नियमित खुवाउने गरिएको छ।