गण्डकी । पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। ८१ किलोमिटर लामो सडक आयोजनाको पूर्वी खण्ड निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने पश्चिम खण्डको भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ।

पूर्वी खण्ड (जामुने–मुग्लिन) का इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार ४१.४५ किलोमिटर लामो उक्त खण्डको सडक विस्तार तथा स्तरोन्नति सम्पन्न भएको छ। निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको र अहिले त्रुटि सच्याउने अवधि (डिफेक्ट लायबिलिटी पिरियड–डिएलपी) सुरु भएको उनले बताए।

ADVERTISEMENT

‘सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएर डिएलपी सुरु भइसकेको छ,’ उनले भने, ‘डिएलपीपछि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको जिम्मेवारी पनि निर्माण कम्पनीकै हुन्छ।’

ADVERTISEMENT

पूर्वी खण्डमा दमौली र डुम्रे बजार क्षेत्रमा करिब दुई किलोमिटर सडक छ लेनमा विस्तार गरिएको छ भने अन्य क्षेत्रमा चार लेनको सडक निर्माण भएको छ। यस खण्डमा साना–ठूला गरी १७ वटा पक्की पुल निर्माण भएका छन्। तनहुँको मादी नदीमा निर्माण हुने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत बनिरहेको छ।

पाँच दशकअघि निर्माण भएको यो सडक विस्तार तथा स्तरोन्नतिको काम २०७८ साल वैशाखदेखि सुरु भएको थियो। पूर्वी खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले रु. ६ अर्ब २१ करोड ३१ लाखमा पाएको थियो।

यता, पश्चिम खण्ड (पोखरा–जामुने) को काम पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले बताए। उनका अनुसार आगामी मङ्सिरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

‘पश्चिम खण्डको काम पनि अन्तिम चरणमा पुगेको छ। झण्डै पाँच किलोमिटर सर्भिस लेन कालोपत्र गर्न बाँकी छ,’ उनले भने, ‘रोड मार्किङ, ट्राफिक सङ्केत चिह्न राख्ने तथा सडक सुरक्षासम्बन्धी काम धमाधम भइरहेको छ।’

पोखरा महानगरपालिका–१० स्थित अमरसिंहचोकदेखि सेती पुलसम्म तथा तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्र गर्ने तयारी भइरहेको छ। निर्माण सम्पन्न भएपछि पश्चिम खण्डमा पनि एक वर्षसम्म डिएलपी लागू हुनेछ। त्यसपछि थप पाँच वर्षसम्म सडक मर्मतको जिम्मेवारी निर्माण कम्पनीकै रहनेछ।

३८.८८ किलोमिटर लामो पश्चिम खण्डमा १८.५ किलोमिटर सडक छ लेनमा विस्तार गरिएको छ भने बाँकी क्षेत्रमा चार लेनको सडक निर्माण भएको छ। सहरी क्षेत्र बढी भएकाले पोखरा, तनहुँका दुलेगौँडा र खैरेनीटारलगायत क्षेत्रमा छ लेनको सडक बनाइएको हो।

यस खण्डमा निर्माण गर्नुपर्ने १३ पुलमध्ये १२ वटा सम्पन्न भइसकेका छन्। पोखराको सेती नदीमाथि बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ।

पश्चिम खण्डको ठेक्का २०७८ साल जेठ २ गते सम्झौता भई सोही वर्ष भदौ १२ गतेदेखि निर्माण सुरु भएको थियो। चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले रु. ७ अर्ब ४० करोड ४६ लाखमा यसको ठेक्का पाएको हो।

एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो आयोजना सरकारको प्राथमिकताप्राप्त पूर्वाधार आयोजनामध्ये एक हो। सुरुका वर्षमा निर्माणले अपेक्षित गति लिन नसकेपछि पोखराका पर्यटन व्यवसायीलगायतले काममा ढिलासुस्ती नगर्न दबाब दिएका थिए।

सडक स्तरोन्नतिसँगै काठमाडौँ, चितवनलगायत स्थानबाट पोखरा पुग्ने यात्रुको आवागमन सहज बनेको छ। निर्माणका क्रममा धुलो, हिलो र लामो यात्रा खेप्न बाध्य सर्वसाधारण तथा पर्यटकले अहिले फराकिलो सडकबाट यात्रा गर्न पाएका छन्।

सडक विस्तारका क्रममा अमरसिंहचोक, अर्घौँचोक, बुद्धचोक र तालचोकलगायत स्थानका साँघुरा चोकसमेत फराकिला बनाइएका छन्। मापदण्डविपरीतका संरचना हटाइएपछि सडक र चोकको स्वरूपसमेत फेरिएको छ।