काठमाडौं । केही दिनदेखि वर्षा र हिमपात गराइरहेको अर्नब चक्रवातको प्रभाव नेपालबाट हटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार कात्तिक १५ गतेदेखि चक्रवातको प्रभाव पूर्ण रूपमा अन्त्य भएको हो।

महाशाखाले आइतबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहेको छ। अहिले देशभर आंशिक बदली छ भने तराई र काठमाडौं उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

ADVERTISEMENT

सिन्धुपाल्चोक र रौतहटका एक–दुई स्थानमा भने हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

ADVERTISEMENT

आगामी पाँच दिनको मौसम पूर्वानुमान

महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा पनि हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

सोमबार लुम्बिनी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ भने लुम्बिनीको तराई क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना छ।

मंगलबार कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। यी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

बुधबार पनि कोसी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। यी क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।

बिहीबार कोसी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोसी प्रदेशको पहाडी तथा हिमाली क्षेत्र र बागमती तथा गण्डकीका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

यस अवधिमा तराई, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना छ।