काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा आर्जित १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँको तुलनामा २४.४८ प्रतिशत बढी हो।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी ४ अर्ब १९ करोड ३२ लाख ५४ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रुपैयाँ थियो।

ADVERTISEMENT

असोज मसान्तसम्म बैंकको निक्षेप संकलन ३.११ प्रतिशतले बढेर ६ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा प्रवाह ७.४८ प्रतिशतले वृद्धि भई ४ खर्ब ७१ अर्ब ९६ करोड ४९ लाख रुपैयाँ कायम भएको छ। गत वर्षको असोजसम्म बैंकको निक्षेप ६ खर्ब ६९ अर्ब १७ करोड १४ लाख रुपैयाँ र कर्जा लगानी ४ खर्ब ३९ अर्ब ८ करोड ८५ लाख रुपैयाँ थियो।

ADVERTISEMENT

समीक्षा अवधिमा बैंकले १ अर्ब २२ करोड १२ लाख ९० हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ। कुल सञ्चालन आम्दानी ६ अर्ब ८ लाख ६४ हजार रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब २२ करोड २५ लाख २९ हजार रुपैयाँ रहेको छ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ७ करोड २ लाख २० हजार रुपैयाँ पुगेको छ। यस आधारमा बैंकको लाभांश क्षमता १७.७५ प्रतिशत रहेको छ। बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७०.११ प्रतिशत कायम भएको छ।

बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५१ पैसाबाट बढेर २३ रुपैयाँ ३५ पैसा पुगेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ७७ पैसा र मूल्य आम्दानी अनुपात १०.८८ गुणा रहेको छ।

यसैगरी, बैंकले खराब कर्जा अनुपात पनि घटाएको छ। गत वर्षको असोजमा ४.९८ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको असोजमा घटेर ४.७९ प्रतिशतमा झरेको छ।