मुक्तिनाथ (मुस्ताङ), कात्तिक १० । चाडपर्वका लागि बुकिङ भएका ३ हजार १२२ वटा चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) मुस्ताङका विभिन्न स्थानमा लामो समयदेखि रोकिएका छन्। बाढीपहिरो र नदी कटानले बेनी–जोमसोम–कोरला सडकखण्ड क्षतिग्रस्त हुनुका साथै पर्याप्त चार्जिङ पूर्वाधार नहुँदा ईभीको ढुवानी प्रभावित भएको हो।

चीनको तिब्बत हुँदै लिजी–नेचुङ (कोरला) नाकाबाट नेपाल भित्रिएका सवारीसाधन भन्सार क्षेत्रदेखि सडकका विभिन्न स्थानसम्म रोकिएका छन्। केही ईभी पोखरा–बेनी–जोमसोम सडकखण्डमा समेत अलपत्र छन्। हिलाम्मे सडकमा फसेका तथा दुर्घटनामा परेका सवारीसाधन हटाउन ट्राफिक प्रहरीले डोजर प्रयोग गर्न थालेको छ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार कोरला नाकाको दशगजा क्षेत्रमा २ हजार ८२८ वटा, भन्सार कार्यालयको यार्डमा १२० वटा, चराङको चार्जिङ स्टेसनमा ७५ वटा र छोसेरमा निजी जग्गामा ४५ वटा ईभी रोकिएका छन्। त्यस्तै, चालक नभएका कारण घाँसामा २३ वटा र जोमसोम बसपार्कमा १९ वटा ईभी थन्किएका छन्।

ADVERTISEMENT

बस्यालका अनुसार कोरला–जोमसोम सडकखण्डका विभिन्न स्थानमा ३० वटाभन्दा बढी ईभी सडकमा समेत अलपत्र अवस्थामा छन्। लामो समयदेखि रोकिएका सवारीसाधन हटाउन ताकेता गरिएको भए पनि चार्जिङको समस्या रहेको बुझिएको उनले बताए।

मौसम सफा भई सडकमा आवागमन सुचारु रहेको अवस्थामा पनि ठूलो सङ्ख्यामा ईभी रोकिएका छन्। तर, ती सवारीसाधन कहिलेसम्म बाहिरिने भन्नेबारे सम्बन्धित निकायले स्पष्ट जानकारी दिएका छैनन्।

भन्सार कार्यालय मुस्ताङका अनुसार उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङमा चार्जिङ स्टेसन सञ्चालनमा छ। अन्य स्थानमा पनि चार्जिङ स्टेसन आवश्यक भए पनि थप पूर्वाधार जडान हुन सकेको छैन। यसले भन्सार जाँचपास भइसकेका सवारीसाधनसमेत लामो समय रोक्नुपर्ने अवस्था सिर्जना गरेको छ। ईभी भन्सार कार्यालयको राजस्वको महत्त्वपूर्ण स्रोतसमेत हुन्।

पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनसँगको सीमा कोरला नाकासम्म करिब २०२ किलोमिटर सडक दूरी छ। समुद्री सतहबाट ४ हजार ६५० मिटर उचाइमा रहेको कोरला नाकाबाट करिब १४ किलोमिटर तलको भन्सार कार्यालयमा सवारीसाधन ल्याएर जाँचपास गरिन्छ। त्यसपछि कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक हुँदै पोखरा लैजाने क्रममा हिलो र बिग्रिएको सडकका कारण ईभीमा समेत क्षति पुग्ने गरेको कोरला नाका कन्टेनर व्यवस्थापन समितिका उपाध्यक्ष घरचुङ गुरुङले बताए।

तिहारअघि कोरलाबाट जाँचपास भएका सबै ईभी जिल्ला बाहिर लैजाने गरी चालकको व्यवस्थापन भइरहेको छ। नेपालका ईभी बिक्रेताका भन्सार प्रतिनिधिहरूले पनि रोकिएका सवारीसाधन बाहिर पठाउने तयारी भइरहेको बताएका छन्।

कालीगण्डकी सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार हाल सडकखण्डमा साना सवारीसाधनको आवागमनमा समस्या छैन। चाडपर्वका लागि ल्याइएका सामान बोकेका कन्टेनर र स्याउ ढुवानीमा संलग्न सवारीसाधन पनि दैनिक रूपमा मुस्ताङबाट बाहिरिरहेका छन्।

यद्यपि, जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार सोमबार साँझसम्म जिल्लाका विभिन्न स्थानमा २७ वटा कन्टेनरसमेत रोकिएका थिए।