मुक्तिनाथ (मुस्ताङ) । दसैँलाई लक्षित गरी चीनको तिब्बत हुँदै कोरला नाकाबाट नेपाल भित्र्याइएका साढे सात सयभन्दा बढी विद्युतीय सवारीसाधन (ईभी) उपल्लो मुस्ताङमै रोकिएका छन्। बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम–कोरला सडक क्षतिग्रस्त भएपछि सडक हिलाम्मे र जोखिमपूर्ण बनेको हो।
लोमान्थाङ गाउँपालिका–४, नेचुङस्थित मुस्ताङ भन्सार कार्यालय तथा कोरला नाका क्षेत्रसहित आसपासका विभिन्न स्थानमा ईभी रोकिएका छन्। लो–घेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङमा ४० वटा, जोमसोमस्थित ट्राफिक कार्यालयमा ३५ वटा, जोमसोम बसपार्कमा १२५ वटा र घाँसामा २५ वटा ईभी रोकिएका छन्।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुँडालका अनुसार भन्सार जाँचपास भइसकेका सवारीसाधनसमेत सडकको अवस्थाका कारण खरिदकर्ताले गन्तव्यतर्फ लगेका छैनन्। सडकमा हिलो जमेको र सवारीसाधन फस्ने जोखिम रहेकाले ढुवानी रोकिएको उहाँले बताउनुभयो। चीनबाट सवारीसाधन आउने क्रम भने जारी छ। भन्सारको राजस्वमा पनि ईभीको उल्लेख्य हिस्सा रहेको उहाँको भनाइ छ।
सदरमुकाम जोमसोमदेखि कोरला नाकासम्मको ११९ किलोमिटर सडकखण्डको अवस्था तुलनात्मक रूपमा सामान्य रहे पनि जोमसोम–बेनी खण्डमा समस्या छ। उक्त खण्डको ७९ किलोमिटरमध्ये करिब २२ किलोमिटर क्षेत्रमा सडक हिलाम्मे र जोखिमपूर्ण बनेको छ। मर्मत गरिएको सडकमा समेत साना सवारीसाधन हिलोमा फस्ने सम्भावना रहेकाले नयाँ गाडीमा क्षति पुग्न सक्ने चिन्ताले खरिदकर्ताले सवारीसाधन रोकेको कोरला नाका कन्टेनर व्यवस्थापन समितिका उपाध्यक्ष घरचुङ गुरुङले बताउनुभयो।
पर्वतको कुश्मा नगरपालिका–१, पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सीमामा रहेको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको कुल दूरी करिब २०२ किलोमिटर छ। कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा सवारीसाधनको जाँचपास गरिन्छ। त्यसपछि कालीगण्डकी करिडोरअन्तर्गतको सडक हुँदै पोखरातर्फ लैजाने गरिन्छ।
सडक एकतर्फी रूपमा सञ्चालनमा रहे पनि हिलो र जोखिमका कारण सवारीसाधन गन्तव्यसम्म पुर्याउन कठिन भएको छ। दसैँलाई लक्षित गरी ल्याइएका ईभी करिब दुई सातादेखि रोकिएका छन्। अब दसैँपछि मात्रै सवारीसाधन लैजाने तयारी रहेको ईभी बिक्रेताका भन्सार प्रतिनिधिहरूले बताएका छन्।
कालीगण्डकी सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार क्षतिग्रस्त सडकमा तत्काल एकतर्फी आवागमन सञ्चालन गर्दै मर्मतको काम भइरहेको छ। बाढीपहिरो र नदी कटानले भत्काएका क्षेत्रमा नयाँ ट्र्याक खोलिए पनि साना सवारीसाधनको आवागमन सहज बनाउन समय लाग्ने उहाँले बताउनुभयो।
चाडपर्वलाई लक्षित गरी ल्याइएका सामान बोकेका कन्टेनर, स्याउलगायतका सामग्री तथा मुस्ताङमा रहेका सवारीसाधन ढुवानी गर्ने काम सकिएकाले अब सडक मर्मतका लागि समयतालिका सार्वजनिक गरेर सडक बन्द गर्नुपर्ने आयोजनाले जनाएको छ। भन्सार कार्यालयमा ठूला कन्टेनरको जाँचपास भइसकेको र ती कन्टेनर फर्किसकेको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो।









