काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी बढुवा भएका छन्।

मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई डीसीईओ पदमा बढुवा गर्ने निर्णय गरेको हो। यसअघि उनी बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।

ADVERTISEMENT

रेग्मीले सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका थिए। सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध रहेका उनले बैंकमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

ADVERTISEMENT

उनले बैंकको प्रमुख वित्तीय अधिकृत (CFO), प्रमुख मानव संसाधन अधिकृत (CHRO), प्रमुख कर्जा अधिकृत (CLO) तथा ट्रेड फाइनान्स प्रमुखका रूपमा काम गरिसकेका छन्।

उनी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुन्। रेग्मीले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (AIT) तथा डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (MBA) गरेका छन्।

ADVERTISEMENT

ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधि र ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको जनाएको छ। बैंकले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको तथा युरोमनी अवार्ड फर एक्सलेन्सअन्तर्गत २०२२, २०२४ र २०२५ मा सम्मानित भएको जनाएको छ।

बैंकका अनुसार ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। हाल बैंकका ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालय छन्।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ।