काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंक अध्यक्ष बाङ्गाको निमन्त्रणामा अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले नेपालको पुनर्निर्माण र आर्थिक सुधारका विषयमा छलफल गरेका हुन्।

भेटवार्तामा हालै रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार, बीमा र सामाजिक संरक्षणका लागि करिब १ अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन गर्ने विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

ADVERTISEMENT

विश्व बैंक अध्यक्ष बाङ्गाले बाढीबाट नेपालमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। साथै सरकारले अघि बढाएका नीतिगत तथा संस्थागत सुधारका कदमको प्रशंसा गर्दै उनले पूर्वाधारमा लगानी विस्तार र नेपालमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।

ADVERTISEMENT

बाङ्गाले एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमलगायत विकास साझेदारसँग समन्वय गरी नेपालका प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तारका लागि विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिएका छन्।

नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार पछिल्लो तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो। भेटमा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदलगायत उच्च अधिकारीहरूको सहभागिता थियो।

ADVERTISEMENT