काठमाडौं । नेपाल राष्ट्र बैंकले एक खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकअन्तर्गतको मौद्रिक व्यवस्थापन विभागले ९१ दिने अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको हो।
निक्षेप संकलनका लागि बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत बोलकबोल गर्न सकिनेछ। राष्ट्र बैंकले निष्कासन गर्न लागेको यस उपकरणको सावाँ तथा ब्याज भुक्तानी आगामी २०८३ असोज २८ गते हुनेछ। यस बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरु मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्दा न्यूनतम १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमको सीमाभित्र रहेर आवेदन दिन सक्नेछन्।



