काठमाडौं । भोटेकोशी क्षेत्रमा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि थप बाह्य सहायता जुटाउने तथा नेपालका सडक र विद्युत् प्रसारण पूर्वाधारमा अमेरिकी निजी लगानी भित्र्याउने एजेन्डासहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका पुगेका छन्।

दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वाग्ले गएराति अमेरिका पुगेका हुन्। वासिङ्टन डीसीमा उनलाई कार्यवाहक राजदूत शरदराज आरनसहित नेपाली दूतावासका अधिकारीहरूले स्वागत गरेका छन्।

ADVERTISEMENT

अमेरिका भ्रमणका क्रममा वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री तथा सेक्रेटरी अफ द ट्रेजरी स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा नेपालका लागि आर्थिक सहयोग विस्तार, पुनर्निर्माणका लागि स्रोत परिचालन, एफएटिएफको ‘ग्रे लिस्ट’बाट बाहिरिने प्रक्रिया तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुने बताइएको छ।

ADVERTISEMENT

भ्रमणका क्रममा हालै भोटेकोशी क्षेत्रमा आएको महाप्रलयबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि थप सहायता जुटाउने विषयलाई प्राथमिकतामा राखिनेछ।

विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग पुनर्निर्माणका लागि आवश्यक वित्तीय स्रोत परिचालन गर्ने र भविष्यमा विपद्बाट हुने क्षति न्यूनीकरण गर्न उत्थानशील पूर्वाधार विकास गर्ने विषयमा पनि छलफल हुनेछ।

ADVERTISEMENT

भोटेकोशी क्षेत्रमा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने देखिएपछि सरकारले विकास साझेदारमार्फत थप वित्तीय सहायता जुटाउने प्रयास थालेको हो।

पूर्वाधारमा अमेरिकी निजी पूँजी भित्र्याउने प्रयास

वाग्लेको भ्रमणको अर्को महत्वपूर्ण एजेन्डा नेपालका पूर्वाधार आयोजनामा अमेरिकी निजी लगानी आकर्षित गर्नु हो। सरकारले सडक, विद्युत् प्रसारण लाइनलगायत पूर्वाधारमा लगानी बढाएर रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य लिएको छ।

यसका लागि विकास साझेदारको सहयोगसँगै अमेरिकी निजी क्षेत्रको पूँजी परिचालन गर्ने पहल गरिनेछ। वाग्लेले अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) का उच्चपदस्थ अधिकारी तथा निजी क्षेत्रका प्रमुख लगानीकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम छ।

भेटमा नेपालका पूर्वाधार तथा उत्पादनशील क्षेत्रमा लगानीको सम्भावना र लगानी सहजीकरणका विषयमा छलफल हुने बताइएको छ।

एफएटिएफ र आर्थिक सुधार पनि प्राथमिकतामा

नेपाललाई एफएटिएफको ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने प्रक्रिया पनि अमेरिकी अर्थमन्त्री र विश्व बैंक समूहका अध्यक्षसँगको भेटमा उठाइनेछ। वित्तीय प्रणाली सुधारसँग जोडिएको यो विषयले नेपालमा वैदेशिक लगानीको वातावरणसँग समेत सम्बन्ध राख्ने भएकाले आर्थिक साझेदारीसँग जोडेर अघि बढाइने भएको छ।

त्यसैगरी, बृहत् आर्थिक सुधार र नेपाल–अमेरिका आर्थिक सहयोग विस्तारका विषयमा पनि छलफल हुने बताइएको छ।

समग्रमा अर्थमन्त्री वाग्लेको अमेरिका भ्रमणमा तत्काल भोटेकोशी पुनर्निर्माणका लागि सहायता जुटाउने र दीर्घकालीन रूपमा सडक तथा विद्युत् प्रसारणजस्ता पूर्वाधारमा अमेरिकी निजी पूँजी आकर्षित गर्ने दुई प्रमुख आर्थिक एजेन्डालाई केन्द्रमा राखिएको छ।