काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढेको आरोप लगाएका छन्।

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै ढुंगानाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यराति नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाए। उनले उक्त घटनालाई पञ्चायती शासनकालमा हुने गिरफ्तारीसँग तुलना गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।

ADVERTISEMENT

प्रहरीले भने जबरालाई पक्राउ नभई ‘सुरक्षा थ्रेट’का कारण सुरक्षाका लागि प्रहरी कार्यालयमा ल्याइएको दाबी गरेको थियो। उनलाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा राखिएको र पछि सुरक्षित स्थानमा पठाइएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

ढुंगानाले कानूनको शासनको उपहास भइरहेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए। पूर्वप्रधानन्यायाधीश जबराको नियन्त्रण, बाढीपीडितको अवस्था तथा पछिल्ला प्राकृतिक विपद्का विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्ने उनको माग छ।

‘हिजो पञ्चायतकालमा सिभिल ड्रेसमा आएर बिना जानकारी गिरफ्तारी हुन्थ्यो, आज लोकतन्त्रमा पनि त्यस्तै अवस्था देखिनु चिन्ताजनक छ,’ ढुंगानाले भने।

ADVERTISEMENT

उनले दुई तिहाइको दम्भमा सरकारले स्वेच्छाचारी निर्णय लिइरहेको आरोप लगाउँदै जुनसुकै घटनाबारे संसदलाई जानकारी गराउनुपर्ने र जनताप्रति उत्तरदायी हुनुपर्ने बताए।

सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा हुकुमी शासन लाद्न खोजेको ढुंगानाको दाबी छ। लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली जनता तथा युवा पुस्ता बलिदान दिनसमेत तयार रहेको उल्लेख गर्दै उनले सरकारलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गरे।