काठमाडाैँ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह ‘बालेन’ले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। प्रधानमन्त्री शाहले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो अपिल गरेका हुन्।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै शाहले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको बताएका छन्। वर्षासँगै मेघगर्जन, चट्याङ र हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ।

ADVERTISEMENT

प्रधानमन्त्री शाहले सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा अवरोध आउन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। विशेषगरी नदी तथा खोला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र जोखिमयुक्त सडकखण्डमा उच्च सतर्कता अपनाउन भनिएको छ।

ADVERTISEMENT

उनले रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, अनावश्यक लामो दूरीको यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरेका छन्। राजमार्गका सुरक्षा जाँच चौकीमार्फत सडकखण्ड सुरक्षित रहेको सुनिश्चित भएपछि मात्र सवारी अघि बढाउने ‘रोक, पर्ख र हेर’ (Stop, Hold and Go) नीति लागू गरिएको उल्लेख छ।

सम्भावित बाढी, पहिरो तथा नदी कटानलाई ध्यानमा राख्दै एक्स्काभेटर, लोडर र डोजरलगायत भारी उपकरण जोखिमयुक्त सडकखण्ड नजिकै तयारी अवस्थामा राखिएको प्रधानमन्त्रीको भनाइ छ। सडक डिभिजन कार्यालयहरूलाई २४ घण्टा सक्रिय रहन तथा सडक खुला वा अवरुद्ध रहेको अवस्थाबारे नियमित सूचना सार्वजनिक गर्न निर्देशन दिइएको छ।

ADVERTISEMENT

त्यस्तै, हिमाली तथा पहाडी क्षेत्रमा ट्रेकिङ र पर्वतारोहणमा रहेका पर्यटकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न समन्वय गर्न तथा होटल व्यवसायी र स्थानीयलाई सुरक्षित बासस्थान र सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ। मौसमअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न र उद्धार उडानलाई प्राथमिकता दिन पनि निर्देशन दिइएको छ।

सबै ७५३ स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन समितिको बैठक गरी पूर्वतयारी गर्न तथा जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यक परे तत्काल सुरक्षित स्थानमा सार्न भनिएको छ।

विद्यालयमा विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षा सुनिश्चित गर्न स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुसार असोज ९ गते पठनपाठन सञ्चालन नगर्न तथा परीक्षा स्थगनबारे सम्बन्धित निकायले निर्णय गर्न निर्देशन दिइएको छ।

प्रधानमन्त्रीले अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन विशेष आग्रह गरेका छन्। अस्पताल तथा स्वास्थ्य चौकीलाई जनशक्ति र औषधिसहित तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न तथा स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र सक्रिय राख्न निर्देशन दिइएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका गोदाममा आवश्यक मौज्दात कायम राख्न तथा राजमार्ग अवरुद्ध भए वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तु ढुवानी गर्ने व्यवस्था मिलाइएको पनि उनले बताएका छन्। मौसमको बहाना बनाएर कृत्रिम अभाव, कालोबजारी वा अनुचित मूल्यवृद्धि गर्नेमाथि बजार अनुगमन गरी कारबाही गर्न निर्देशन दिइएको छ।

नागरिकलाई मौसमसम्बन्धी आधिकारिक सूचना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबाट लिन प्रधानमन्त्रीले आग्रह गरेका छन्। साथै आपत्कालीन अवस्थामा सम्बन्धित सरकारी हेल्पलाइन, जिल्ला प्रशासन कार्यालय वा सुरक्षा निकायमा सम्पर्क गर्न अनुरोध गरिएको छ।