बागलुङ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले बागलुङमा ठूलो क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने एक महिला अझै बेपत्ता छन्।

बाढीपहिरोले जिल्लामा ५१ घर र १० गोठ पूर्ण रूपमा बगाएको तथा ५१ घरमा आंशिक क्षति पुगेको प्रशासनले जनाएको छ। निसीखोला र तमानखोला सबैभन्दा बढी प्रभावित भएका छन्।

ADVERTISEMENT

बाढीले गलकोट नगरपालिका–९ को वडा कार्यालयसमेत बगाएको छ। तीनवटा झोलुङ्गे पुल बगेका छन् भने दुईवटा प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको छ। दुई जलविद्युत् आयोजना, एक विद्यालय, एक रिसोर्ट र एक कृषि फार्ममा पनि क्षति भएको छ। बाढीपहिरोमा २५६ पशुचौपाया क्षति भएका छन् भने २१५ कुखुरा मरेका छन्।

ADVERTISEMENT

प्रशासनका अनुसार निसीखोला–४ मा २० कच्ची र दुई पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। त्यहाँ ११ घर जोखिममा छन्। तमानखोला–४ सन्तरमा आठ घर तथा बडिगाड–९ खाल्लेचौरमा १६ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

त्यस्तै, ढोरपाटन–७ र १२ मा तीन घर पूर्ण तथा एक घरमा आंशिक क्षति पुगेको छ। गलकोट–१ फैरसोतमा दुई पक्की र तीन कच्ची घर, दुई होटल तथा रिसोर्ट र एक गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

ADVERTISEMENT

बाढीपहिरोमा मृत्यु हुनेमा ताराखोलाका तीन, निसीखोलाका पाँच र तमानखोलाका चार जना छन्। तमानखोलाको पहिरोमा एक महिला अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।