काठमाडौं — काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन भएको छ । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार साँझ उनको निधन भएको हो ।

केयूका उपकुलपति विवेक बरालका अनुसार शर्माको ८६ वर्षको उमेरमा बुधबार साँझ ६ः५० बजे निधन भएको हो ।

ADVERTISEMENT

शर्माको बिहीबार दाहसंस्कार गरिने भएको छ । दाहसंस्कारअघि श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर काठमाडौंको बालकुमारीस्थित स्कुल अफ म्यानेजमेन्टमा राखिने बरालले जानकारी दिए ।

ADVERTISEMENT

शर्मा काठमाडौं विश्वविद्यालयमा ६ कार्यकाल उपकुलपति भएका थिए । उनकै नेतृत्वमा काठमाडौं विश्वविद्यालयको स्थापना भएको थियो ।

बेलायतबाट रसायनशास्त्रमा पीएचडी गरेका शर्मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का संस्थापक निर्देशकसमेत थिए ।

ADVERTISEMENT

उनले कर्णालीको जुम्ला, दोलखाको जिरी र धनकुटामा पुगेर प्राविधिक शिक्षा सुरु गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । विद्यालयदेखि उच्च शिक्षासम्मको क्षेत्रमा उनले योगदान पुर्‍याएका थिए ।

शर्माले बूढानीलकण्ठ स्कुलको अध्यक्षका रूपमा समेत काम गरेका थिए ।

शर्माका श्रीमती र चार छोरी थिए । उनकी एक छोरी र श्रीमतीको भने यसअघि नै निधन भइसकेको छ ।