काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित सिफारिस समितिले बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले उनलाई नियुक्त गरेका हुन् ।

बराल काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन् । उनी काठमाडौं विश्वविद्यालयमै अध्ययन गरेर सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति बनेका छन् ।

ADVERTISEMENT

बरालले काठमाडौं विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका छन् । त्यसपछि उनले जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर तथा न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका हुन् ।

ADVERTISEMENT

उनको विशेषज्ञता इन्धन तथा ऊर्जा, दहन विज्ञान, वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ तथा कम्प्युटेसनल फ्लुइड डाइनामिक्सलगायत क्षेत्रमा रहेको छ ।

ADVERTISEMENT

बरालले काठमाडौं विश्वविद्यालयमा उपप्राध्यापक र सहप्राध्यापकका रूपमा काम गर्दै प्राध्यापकको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । उनले विश्वविद्यालयमा ऊर्जा, वातावरण, बायोमासबाट ऊर्जा, थर्मोडाइनामिक्स, फ्लुइड मेकानिक्स, हिट ट्रान्सफर, इन्टरनल कम्बसन इन्जिन तथा हिट एन्ड पावर इन्जिनियरिङलगायत विषय अध्यापन गर्दै आएका छन् ।

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियामा ३५ जनाले आवेदन दिएका थिए । तीमध्ये १० जनाको नाम सर्टलिस्ट गरी सार्वजनिक गरिएको थियो । सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिएपछि मेरिटका आधारमा बरालको नाम सिफारिस गरिएको समितिले जनाएको छ ।

बरालको नियुक्तिसँगै काठमाडौं विश्वविद्यालयले आफ्नै विश्वविद्यालयमा अध्ययन गरेका प्राध्यापकलाई पहिलोपटक उपकुलपतिको जिम्मेवारी दिएको छ । उनको शैक्षिक तथा अनुसन्धान अनुभवका आधारमा विश्वविद्यालयको शैक्षिक, अनुसन्धान र प्राविधिक क्षेत्रमा थप प्रभावकारी नेतृत्वको अपेक्षा गरिएको छ ।