काठमाडौँ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले प्रमुख नदीहरूमा बाढीको पूर्वानुमान अवधि तीन दिनबाट बढाएर पाँच दिन पुर्याएको छ।
त्यस्तै, नेपालभरका स–साना नदी तथा खोलामा आउन सक्ने आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम पूर्वानुमान पनि २४ घण्टाबाट बढाएर ४८ घण्टासम्म गर्न थालेको छ।
केन्द्रले २०८३ असोज ७ गतेदेखि विस्तारित पूर्वानुमान सेवा सञ्चालनमा ल्याएको हो। यससँगै सम्भावित बाढी तथा आकस्मिक बाढीको जोखिमबारे सम्बन्धित निकाय तथा समुदायले थप समयअघि नै जानकारी पाउने भएका छन्।
केन्द्रका अनुसार नयाँ पूर्वानुमान प्रणालीमा केन्द्रको आफ्नै नेपाल–केन्द्रित बाढी पूर्वानुमान मोडल तथा ECMWF Ensemble Forecast लाई विश्वव्यापी र क्षेत्रीय स्तरमा उपलब्ध विभिन्न जलविज्ञानसम्बन्धी पूर्वानुमान मोडलसँग एकीकृत गरिएको छ।
विशेषगरी दुई दिने आकस्मिक बाढी जोखिम पूर्वानुमान तयार गर्दा दक्षिण एसिया आकस्मिक बाढी विश्लेषण प्रणाली, भू–चिस्यान, नदीको वर्तमान जलसतह तथा प्रवाह, वर्षाको पूर्वानुमान, जलाधारको अवस्था लगायतका महत्त्वपूर्ण जलविज्ञानसम्बन्धी सूचकहरूको समग्र विश्लेषण गरिने केन्द्रले जनाएको छ।
पूर्वानुमान अवधि विस्तार भएपछि बाढीको सम्भावित जोखिमबारे समयमै जानकारी प्राप्त गरी पूर्वतयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा आवश्यक प्रतिकार्यका लागि थप समय उपलब्ध हुने अपेक्षा गरिएको छ।
केन्द्रले आगामी दिनमा बाढी पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन स्थान विशेष शुद्धता र समयगत शुद्धता सुधार गर्ने जनाएको छ। साथै, प्रभावमा आधारित बाढी तथा आकस्मिक बाढी पूर्वानुमान, स्थानीय जोखिम पहिचान र पूर्वसूचना प्रणालीलाई क्रमशः थप सुदृढ गर्दै लैजाने तयारी गरिएको छ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उप–कार्यकारी निर्देशक डा. राजन भट्टराईका अनुसार पूर्वानुमान प्रणालीमा गरिएको सुधारले बाढीजन्य जोखिम न्यूनीकरण तथा पूर्वतयारीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।








