काठमाडौं । गायक प्रकाश सपूतले नयाँ दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालाई नेपाल घुम्न निम्तो दिएका छन् ।

हाम्रो स्वाभिमान ट्रस्ट दिल्लीले आइतबार आयोजना गरेको तीज विशेष कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली पुगेका सपूतले मुख्यमन्त्री गुप्तासहित संस्कृति मन्त्री केशव मिश्रलाई नेपाल भ्रमणका लागि निम्तो दिएका हुन् । नयाँ दिल्लीमा आयोजित हरितालिका तीज कार्यक्रममा मुख्यमन्त्री गुप्ताको सहभागिता अन्य स्रोतले पनि पुष्टि गरेका छन्।

ADVERTISEMENT

सपूतले मुख्यमन्त्री र मन्त्रीका अघि गीत प्रस्तुत गर्ने क्रममा ब्यानर हस्तान्तरण गर्दै नेपाल भ्रमणको निम्तो दिएका हुन् । “नेपाल अहिले विपद्को पीडा विस्तारै बिर्सिँदै उठ्न थालेको छ, फेरि पुरानै लयमा हिँड्न थालेको छ, नेपाल घुम्नका लागि सुरक्षित छ,” सपूतले भने ।

ADVERTISEMENT

उनले नेपालको पर्यटन, धार्मिक तथा सांस्कृतिक भाइचाराका हिसाबले छिमेकी भारतको साथ र सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपाल भ्रमणमा आउन आग्रह गरे ।

“अब नेपाल घुम्न आएर सुरक्षित र सम्भावना भएको देशको सन्देश विश्वव्यापी रूपमा फैलाउन सहयोग गर्नुहोस्,” उनले भने ।

ADVERTISEMENT

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले नेपाल–भारतबीच एकअर्काको संस्कृति आदानप्रदान गर्न पाउँदा खुसी लागेको बताइन् । उनले दुई देशबीचको आपसी सम्बन्ध लामो समयसम्म अघि बढ्ने बताएकी थिइन्।

कार्यक्रममा बाबा रामदेव, बालकृष्ण आचार्यलगायतको समेत सहभागिता थियो । मुख्यमन्त्री गुप्ता सपूतको गीत सुनेर कार्यक्रमबाट बाहिरिएकी थिइन् ।

दिल्ली सरकारको सहयोगमा हाम्रो स्वाभिमान ट्रस्टले हरेक वर्ष तीजका अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको छ । हरितालिका तीज भाद्र २९ गते भए पनि नयाँ दिल्लीमा ब्रिक्स सम्मेलनका कारण कार्यक्रम केही दिनपछि सारिएको थियो ।

सपूत उक्त कार्यक्रममा तेस्रो पटक सहभागी भएका हुन् । उनी पहिलो पटक सोही कार्यक्रममा सहभागी हुँदा स्वामी रामदेवले उनलाई नेपालको ‘शाहरुख खान’ भनेको भिडियो सामग्री र समाचार चर्चामा आएको थियो ।