काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप खाता संख्या ६ करोड ३४ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ क्षेत्रमा कुल ६ करोड ३४ लाख २५ हजार २९६ वटा निक्षेप खाता सञ्चालनमा रहेका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४९ लाख ९६ हजार ९२९ ले बढी हो ।
अघिल्लो आवमा बैंकिङ क्षेत्रमा कुल ५ करोड ९४ लाख २९ हजार ३६७ वटा निक्षेप खाता सञ्चालनमा रहेका थिए । राष्ट्र बैंकका अनुसार आव २०८२र८३ मा वाणिज्य बैंकहरूमा मात्रै ५ करोड ४४ लाख ४९ हजार ५३९ वटा निक्षेप खाता सञ्चालनमा छन् । त्यस्तै विकास बैंकहरूमा ७८ लाख ८३ हजार ६७२ र फाइनान्स कम्पनीहरूमा १० लाख ९२ हजार ८५ वटा निक्षेप खाता रहेका छन् ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी तथा लघुवित्त वित्तीय संस्थाका नाममा परिपत्र जारी गर्दै एकीकृत निर्देशन, २०८२ मा संशोधन, परिमार्जन तथा थप गरी यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
संशोधित व्यवस्थाअनुसार २०८३ भदौमा आएको प्राकृतिक विपद्का कारण रसुवालगायत प्रभावित क्षेत्रमा क्षति पुगेका वा सञ्चालन गर्न असहज भएका बैंक तथा वित्तीय संस्थाका शाखा तथा कार्यालयलाई बैंकिङ सेवा यथाशीघ्र सुचारु गर्ने उद्देश्यले विशेष सुविधा दिइएको छ । अब त्यस्ता प्रभावित शाखा वा कार्यालयलाई नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति नलिई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफैँ स्थानान्तरण गर्न वा नजिकैको अर्को शाखामा समायोजन गर्न सक्नेछन् ।
यसरी शाखा स्थानान्तरण वा समायोजन गरेपछि भने सम्बन्धित संस्थाले सात दिनभित्र राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ । राष्ट्र बैंकले प्राकृतिक विपद्का कारण बैंकिङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई बैंकिङ सेवा लिन सहज वातावरण बनाउन पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।






