काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न १८ अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । केन्द्रीय बैंकले उक्त रकम ९० दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उठाउन लागेको हो ।
राष्ट्र बैंकले बिहीबार जारी गरेको एक सूचनाअनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
बोलकबोलमा सहभागी हुने संस्थाले कम्तीमा १० करोड रुपैयाँदेखि आवेदन दिनुपर्नेछ । त्यसपछि १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको अधिकतम रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउनेछन् ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन गरिएको रकमको साँवा तथा ब्याज आगामी मंसिर १६ गते भुक्तानी गरिनेछ ।
१८ अर्ब रुपैयाँ बाँडफाँट गर्दा बैंक तथा वित्तीय संस्थाले प्रस्ताव गरेको ब्याजदरमध्ये सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिइनेछ । सोही क्रममा क्रमशः रकम बाँडफाँट गर्दै कुल १८ अर्ब रुपैयाँसम्म निक्षेप संकलन गरिनेछ ।
यद्यपि, राष्ट्र बैंकबाट संकलन गरिएको यो रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको लगानी पोर्टफोलियोमा समावेश हुने भएकाले यसलाई अनिवार्य नगद मौज्दात अर्थात् सीआरआरमा गणना गर्न पाइने छैन ।






