काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालि बडादसैँलाई लक्षित गरेर नयाँ तथा खुद्रा नोट सटहीका लागि कुनै पनि छुट्टै विशेष मिति नतोक्ने भएको छ । विगतका वर्षहरूमा दसैँको अवसर पारेर निश्चित मिति तोकी नयाँ नोट वितरण गर्ने गरिन्थ्यो भने यसपटक देखि उक्त अभ्यासमा परिवर्तन गरिएको छ ।

नियमित कार्यालय समयमै नोट सटही सुविधा

यस वर्ष दसैँमा नयाँ नोट साट्न चाहने सर्वसाधारणले कुनै विशेष मिति वा तोकिएको दिनको प्रतीक्षा गर्नु नपर्ने भएको छ । राष्ट्र बैंकले बजारको माग र आवश्यकतालाई ध्यानमा राख्दै अब नियमित कार्यालय समयमै नयाँ तथा खुद्रा नोट सटहीको सुविधा उपलब्ध गराउने भएको छ ।

ADVERTISEMENT

राष्ट्र बैंकसँग पर्याप्त मात्रामा नोटहरू मौजदात रहेकाले मागको आधारमा नियमित रूपमा नै नयाँ नोट उपलब्ध गराइनेछ । नयाँ नोटले मात्र माग धान्न नसकेको अवस्थामा सुकिला नोटसमेत वितरण गर्ने केन्द्रीय बैंकको तयारी छ ।

ADVERTISEMENT

बैंक तथा वित्तीय संस्थामार्फत पनि वितरण

नेपाल राष्ट्र बैंकको आफ्नै बैंकिङ काउन्टरबाट मात्र नभई अन्य बैंक तथा वित्तीय संस्थाहरूले समेत राष्ट्र बैंकबाट नोट लगेर आआफ्ना ग्राहकहरूलाई सटही सुविधा प्रदान गरिरहेका छन् ।

हाल राष्ट्र बैंकमा नोट सटहीका लागि पुग्ने सेवाग्राहीहरूले दुई बन्डलसम्म नयाँ नोट साट्न पाउने व्यवस्था मिलाइएको छ । यसरी उपलब्ध गराइने एक बन्डलमा ५, १०, २०, ५०  र १०० रुपैयाँ दरका नोटहरू एक–एक सय थानका हिसाबले हुने गरेका छन् ।

ADVERTISEMENT

व्यक्तिगत र व्यापारिक प्रयोजनमा केही भिन्नता

राष्ट्र बैंकका अनुसार व्यक्तिगत प्रयोजनका लागि नयाँ नोटहरू नपाइन सक्ने सम्भावना रहेको छ । यद्यपि, व्यापारिक प्रयोजनका लागि भने आवश्यकता अनुसार नयाँ तथा सुकिला नोटहरू सहज रूपमा सटहीको सुविधा उपलब्ध गराइनेछ । यस व्यवस्थाले दसैँको समयमा नोट साट्नका लागि बैंकहरूमा हुने अत्यधिक भिडभाड र लामो लाइनलाई कम गर्ने अपेक्षा गरिएको छ ।