काठमाडौं । नेपाल राष्ट्र बैंकले रसुवा लगायतका जिल्लामा हालै आएको प्राकृतिक विपद्का कारण बैंकिङ कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले २०८३ भदौ १६ गते सूचना जारी गर्दै ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई आवश्यक सहजीकरण गर्न निर्देशन दिएको हो ।

ADVERTISEMENT

बाढीपहिरो तथा अन्य विपद्का कारण ग्राहकका चेक, एटीएम कार्ड, मोबाइल फोन लगायत आवश्यक कागजात हराएको वा नष्ट भएको अवस्थामा पनि बैंकिङ सेवा प्राप्त गर्न सहज बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।

ADVERTISEMENT

राष्ट्र बैंकका अनुसार, ग्राहकको पहिचान यकिन गर्न बैंक तथा वित्तीय संस्थाले आफ्नो प्रणालीमा पहिले नै सुरक्षित रहेको हस्ताक्षरको नमुना, फोटो तथा KYC विवरण प्रयोग गर्न सक्नेछन् ।

ADVERTISEMENT

यसबाट आवश्यक कागजात गुमाएका ग्राहकलाई पनि परिस्थितिअनुसार बैंकिङ सेवा उपलब्ध गराउन सकिनेछ ।

प्राकृतिक विपद्का समयमा सर्वसाधारणलाई नगद तथा अन्य बैंकिङ सेवाको अभाव हुन नदिन राष्ट्र बैंकले यस्तो विशेष व्यवस्था गर्न निर्देशन दिएको जनाएको छ ।