काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम झन्डै साढे १४ अर्ब पुगेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, बिहीबार बिहानसम्म विभिन्न नौवटा बैंकमा १० अर्ब ७९ करोड २६ लाख ६४ हजार ८९८ रुपैयाँ मौज्दात छ । त्यस्तै, कोषका दुईवटा बैंकमा रहेको डलर खातामा दुई करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा भएको छ ।
कार्यालयका अनुसार, सबै खातामा गरी १४ अर्ब ४५ करोड ९८ लाख १० हजार १७८ जम्मा भएको हो ।
कोषमा जम्मा भएको रकमबाट रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब निकासा भइसकेको छ ।
सरकारले हालै रसुवाका बाढी प्रभावित परिवारलाई आवास भाडा र अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णय गरिसकेको छ ।
जसअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार र थप प्रत्येक सदस्यका लागि दुई हजार अतिरिक्त उपलब्ध गराइने छ ।






