काठमाडौँ । भोटेकोसी नदीमा आएको भीषण आकस्मिक बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाली कला क्षेत्र पनि सक्रिय बनेको छ।
बाढीबाट ठूलो जनधनको क्षति भएपछि कलाकारहरूले सरकारी राहत कोषमा रकम जम्मा गर्नेदेखि प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने र सामाजिक सञ्जालमार्फत सचेतना फैलाउनेसम्मका अभियान सञ्चालन गरिरहेका छन्।
जसले गरे नगद सहयोग
वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
एक्सन अभिनेता विराज भट्टले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्। अभिनेत्री नीता ढुङ्गाना तथा गायिकाद्वय रचना रिमाल र बेनिशा पौडेलले जनही १ लाख रुपैयाँका दरले सरकारी राहत कोषमा सहयोग गरेका छन्।
अभिनेत्री माल्भिका सुब्बा र निर्माता तथा वितरक गोविन्द शाहीले जनही ५० हजार रुपैयाँ सहयोग गरेका छन्। निर्माता सुशील पोखरेलले ३३ हजार ३३३ रुपैयाँ ३३ पैसा सहयोग गरेका छन्।
गायक शिव परियार र गायिका एलिना चौहानले जनही २५ हजार रुपैयाँ सहयोग गरेका छन् भने लोकगायिका राधिका हमालले २१ हजार रुपैयाँ सहयोग गरेकी छन्। गायक रामकृष्ण ढकालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।
यसका अतिरिक्त अभिनेत्री आँचल शर्मा, मिरुना मगर, ऋचा शर्मा, अभिनेता अनमोल केसी, प्राश्ना शाक्य, गजित विष्टलगायत थुप्रै कलाकार तथा सेलिब्रेटीले पनि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेका छन्।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफ्नो आधा महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्।
२५ लाख रुपैयाँको जिन्सी सहयोग
मोडल तथा व्यवसायी दीपा सिंखडाले आफ्नो व्यवसायको स्टकमा रहेको करिब ५० लाख रुपैयाँ बराबरको कपडामध्ये ५० प्रतिशत अर्थात् करिब २५ लाख रुपैयाँ मूल्य बराबरका कपडा बाढीपीडितका लागि निःशुल्क उपलब्ध गराउने घोषणा गरेकी छन्।
खुट्टा फ्र्याक्चर भएका कारण आफू स्वयं प्रभावित क्षेत्रमा जान नसक्ने बताउँदै उनले विश्वसनीय तथा आधिकारिक संस्था वा सरकारी निकायमार्फत ती कपडा प्रभावितसम्म पुर्याउन आग्रह गरेकी छन्।
सचेतना र एकताका लागि कलाकारको अपिल
कलाकारहरूले आर्थिक सहयोगसँगै विपद्को समयमा सावधानी अपनाउन र उद्धार तथा राहत कार्यमा एकजुट हुन पनि अपिल गरेका छन्।
अभिनेता राजेश हमालले बाढी आएलगत्तै सुरक्षा निकायका आपत्कालीन सम्पर्क नम्बरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेका थिए।
अभिनेता निखिल उप्रेतीले भिडियो सन्देशमार्फत सबैलाई एकजुट हुन आग्रह गरेका छन्। अभिनेता प्रदीप खड्काले प्रभावितको ज्यान जोगाउन हरेक मिनेट महत्वपूर्ण रहेको भन्दै उद्धार तथा राहतमा तत्काल सक्रिय हुन अपिल गरेका छन्।
दीपकराज गिरी, दीपाश्री निरौला, करिश्मा मानन्धर, रेखा थापा, प्रियंका कार्की, केकी अधिकारीलगायत कलाकारले पनि विपद्विरुद्ध सबै एकजुट हुन तथा नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।
प्रतिष्ठानबाट पनि संस्थागत सहयोग
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पनि संस्थागत रूपमा सहयोग गर्ने निर्णय गरेको छ।
प्रतिष्ठानको केन्द्रीय समितिको बिहीबार बसेको आकस्मिक बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
प्रतिष्ठानका अध्यक्ष रिता थापामगर र महासचिव शिव हमालले संयुक्त विज्ञप्तिमार्फत सहयोगको जानकारी दिएका छन्।
प्रतिष्ठानले आफ्ना प्रदेश, जिल्ला तथा स्थानीय कमिटी र शुभेच्छुकमार्फत थप राहत रकम तथा सहयोग सामग्री जुटाउने अभियानसमेत सञ्चालन गर्ने जनाएको छ।
यसरी भोटेकोसी बाढीपछि नेपाली कला क्षेत्र आर्थिक सहयोग, राहत सामग्री, सचेतना तथा सामाजिक ऐक्यबद्धताको अभियानमार्फत विपद्मा परेका नागरिकको साथमा उभिएको छ।






