काठमाडौं । कन्दरा ब्यान्डले कन्सर्टमार्फत संकलित २१ लाख रुपैयाँ भोटेकोसी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ।

कन्दराको आह्वान र अग्रसरतामा बीएनएमको आयोजनामा अमेरिकाको एटलान्टामा कार्यक्रम गरिएको थियो। कार्यक्रममा नेपाली दर्शक, संघ–संस्था, व्यवसायी, कलाकार, शुभेच्छुक तथा स्थानीय नेपाली समुदायको सहभागिताबाट रकम संकलन भएको हो।

ADVERTISEMENT

एटलान्टास्थित गैरनाफामूलक संस्था नेपलिज एसोसिएसन अफ जर्जियाको बैंक खाताबाट प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरिएको कन्दराले सामाजिक सञ्जालमार्फत जनाएको छ।

ADVERTISEMENT

कन्दराका गायक तथा संस्थापक विवेक श्रेष्ठले यो कार्यक्रम केवल सांगीतिक प्रस्तुति नभई मातृभूमिप्रति विदेशमा रहेका नेपालीको सामूहिक ऐक्यबद्धता भएको बताए।

‘यो केवल एउटा सांगीतिक कार्यक्रम थिएन। हजारौँ माइल टाढा रहेर पनि मातृभूमिको पीडासँग जोडिएको नेपाली मनहरूको सामूहिक अभिव्यक्ति थियो,’ श्रेष्ठले भने।

ADVERTISEMENT

देश दुःखमा रहेका बेला गीत गाउन सहज नभए पनि संगीतलाई पीडामा मल्हम लगाउने माध्यम बनाउन सकिन्छ भन्ने विश्वासका साथ कार्यक्रम गरिएको उनले बताए। उनका अनुसार संकटको समयमा संगीतलाई मनोरञ्जनबाट सेवातर्फ मोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कन्दरा गत ७ अगस्टदेखि ३० सेप्टेम्बरसम्म दुई महिना लामो अमेरिका भ्रमणमा छ। ‘रिदम अफ चेन्ज’ नाम दिइएको सांगीतिक यात्राअन्तर्गत ब्यान्डले बोस्टनबाट कन्सर्ट सुरु गरेको थियो।

एटलान्टापछि कन्दराले अब भर्जिनिया र कोलोराडोमा प्रस्तुति दिनेछ। यी दुवै कार्यक्रममा पनि ब्यान्डले भोटेकोसी बाढी प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउने बताइएको छ।