काठमाडौं ।  देशका मध्य तथा पूर्वी भेगका विभिन्न जिल्लामा गएराति भारी वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुनसरी, उदयपुर, सिन्धुली, नवलपरासी, पाल्पा, सोलुखुम्बु, झापा, मकवानपुर र म्याग्दीलगायत जिल्लामा ठूलो वर्षा मापन गरिएको छ। काठमाडौँ उपत्यकासहित देशका अन्य क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ भने केही स्थानमा अहिले पनि पानी परिरहेको छ।

ADVERTISEMENT

यसैबीच, कैलालीस्थित कटेनी नदीको रतनपुर जलमापन केन्द्रमा जलसतह सतर्कता तह नाघेर बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार आज र भोलि पनि देशका अधिकांश क्षेत्रमा वर्षाको क्रम जारी रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

ADVERTISEMENT

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान तथा मधेश प्रदेशसहित ती प्रदेशका तराईका एक–दुई स्थानमा मुसलधारे वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।