काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनका शहीद तथा घाइतेका माग सम्बोधन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।
जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गौतमले वर्तमान सरकारप्रति विश्वास र भरोसा राख्न आग्रह गरिन्। उनले जेनजी आन्दोलनका माग सम्बोधन गर्ने विषयमा सरकारका मन्त्री तथा सांसदहरूबीच नियमित छलफल र परामर्श भइरहेको जानकारी दिइन्।
भदौ २३ गते नागरिकमाथि गोली चलेको स्मरण गर्दै उनले त्यस्तो नियति अब कसैले भोग्न नपर्ने वातावरण निर्माण गर्नुपर्ने बताइन्। ‘२३ गतेको जस्तो नियति यो देशमा अब कहिले पनि कसैले भोग्न नपरोस्, कुनै आमाले र कुनै परिवारले पनि भोग्न नपरोस्,’ उनले भनिन्।
मन्त्री गौतमले आन्दोलनका शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरिन्। जेनजीभित्रै विभाजन र दोषारोपण बढे त्यसको फाइदा आन्दोलनका विरोधीहरूले उठाउन सक्ने उनको चेतावनी थियो।
सरकार गठन भएको करिब पाँच महिना मात्रै भएकाले सरकार सञ्चालन र कानुन निर्माणका प्रक्रियामा केही चुनौती रहेको उनले बताइन्। प्रतिनिधिसभामा पर्याप्त संख्या भए पनि संवैधानिक संरचना र प्रक्रियाका कारण कानून निर्माणमा समय लागिरहेको उनको भनाइ थियो।
‘तपाईंहरूले देखेका हरेक सपना र हाम्रा शहीद तथा घाइते साथीहरूले देखेका सपना पूरा गर्न यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ,’ उनले भनिन्, ‘यो सरकारमाथि विश्वास राख्नुस्, यो सरकारले गर्छ।’
मन्त्री गौतमले सरकार सफा नियतका साथ अघि बढिरहेको दाबी गर्दै धैर्य र एकताका साथ अघि बढे देशमा अपेक्षित परिवर्तन सम्भव हुने बताइन्।






