काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोटको बेत्रावतीमा बाढी गएको ११औँ दिनमा ६४ वर्षीया चण्डिका श्रेष्ठ जीवितै उद्धार हुनु सिंगो देशका लागि आशाको खबर भएको बताएका छन्।

शनिबार राति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले श्रेष्ठलाई जीवितै उद्धार गरेको खबरले देशलाई आशा दिएको बताएका हुन्।

ADVERTISEMENT

उनले चण्डिकाको उद्धारले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा राज्य अझै डटेर लागिरहेको सन्देशसमेत दिएको उल्लेख गरेका छन्।

ADVERTISEMENT

प्रधानमन्त्री शाहले यसअघि पनि चण्डिकाको उमेर समूह र त्यसभन्दा माथिका धेरै ज्येष्ठ नागरिकलाई प्रभावित क्षेत्रबाट उद्धार गरिएको दाबी गरेका छन्।

उनका अनुसार बाढीका बेला कतिपय ज्येष्ठ नागरिकले आफ्नै ज्यानको समेत परवाह नगरी काँपिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भाग्दै ज्यान जोगाएका थिए। सामान्य अवस्थामा लौरोको सहारासमेत आवश्यक पर्ने ज्येष्ठ नागरिकमा विपद्का बेला आफ्ना सन्तान जोगाउने असाधारण साहस देखिएको उनले बताएका छन्।

ADVERTISEMENT

बाढीका कारण वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकसमेत सुरक्षित स्थानतर्फ भाग्न बाध्य भएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।

उनले विपद्का कारण कठिन अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई आफूहरू एक्लो नठान्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताएका छन्।

चण्डिका श्रेष्ठको ११ दिनपछि भएको जीवित उद्धारले बाढी तथा पहिरोमा बेपत्ता भएकाहरूको खोजीमा परिवार र उद्धार टोलीबीच नयाँ आशा जगाएको छ।