काठमाडौं, १६ भदौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम उपलब्ध गराएको हो।
कम्पनीको ९औँ वार्षिकोत्सवका अवसरमा मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै सहयोग गरिएको जनाइएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी र नायव प्रमुख कार्यकारी अधिकृत दिपेशबाबु तिवारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
कम्पनीका अनुसार विपद्का कारण प्रभावित नागरिकको तत्कालीन राहतदेखि पुनःस्थापनासम्मका कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत रकम प्रदान गरिएको हो।
रिलायबल नेपाल लाइफले बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना र सामान्य जनजीवन पुनर्बहालीका लागि भइरहेका प्रयास सफल हुने विश्वास व्यक्त गरेको छ।
कम्पनीले विगतदेखि नै सामाजिक, मानवीय तथा विपद् व्यवस्थापनसम्बन्धी गतिविधिमा सहभागिता जनाउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार राहत तथा मानवीय सेवाका कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।






