काठमाडौं । रसुवाको भोटेकोशी नदीमा अकस्मात ठूलो बाढी आएपछि प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

प्रधानमन्त्री बालेन शाहको सचिवालयले सबै कम्पनीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी दिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको बताए ।

ADVERTISEMENT

तिब्बततर्फबाट आएको बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतिर बढेको छ । बाढीले ठूलो क्षति गरेको अनुमान छ । बाढीले रसुवा र नुवाकोटको सिमानामा रहेको बजार बगाएको छ ।

ADVERTISEMENT

जिल्ला प्रशासन कार्यालय रसुवाले भोटेकोशी नदीमा पानीको बहाव उच्च रहेको जनाउँदै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

प्रशासनका अनुसार बाढीका कारण नुवाकोटको विदुर नगरपालिकाअन्तर्गत त्रिशूली बजार क्षेत्रका केही पुल तथा त्रिशूली र ढुंगे बजारका घर तथा बस्तीसमेत बगाएको सूचना प्राप्त भएको छ।

ADVERTISEMENT

नेपाल प्रहरीले पनि भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको भन्दै त्रिशूली नदी आसपासका जिल्लामा अर्को सूचना नआएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र ती क्षेत्रमा आवतजावत रोक्नसमेत अनुरोध गरिएको छ।