काठमाडौँ — देशभर मनसुनी वायुको प्रभाव रहँदा आज विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
त्यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
मधेस प्रदेशका साथै कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा कोसी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थान तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
त्यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। देशका तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले आगामी मौसममा वर्षाको गतिविधि सक्रिय रहने विभागले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।






