विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत पाएका छन् ।
यस्तै, प्रस्तावको विपक्षमा २२ मत भयो भने मत दिन्न भन्ने सांसदको सङ्ख्या ४ रहेको छ । मुख्यमन्त्री कार्कीले पाएको उक्त मत ९२ सदस्यीय प्रदेशसभाको बहुमत ४७ भन्दा बढी हो । मत विभाजनमा ८३ जना सांसद सहभागी भएका थिए । प्रदेशसभामा जसपाकी सांसद निर्मला लिम्बू भने अनुपस्थित थिइन् ।
कार्कीलाई एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १७ सांसदले विश्वासको मत दिएका हुन् । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन गत भदौ ३ गते फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिएका हुन् ।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए ।
नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच साउन ९ गते भएको तीन बुँदे सहमतिसँगै प्रदेशमा नयाँ सत्ता समीकरण बनेको हो ।
मुख्यमन्त्री कार्कीले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । पहिलो पटक २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएपछि वैशाख ३१ गते उनले विश्वासको मत लिएका थिए । त्यतिबेला उनले ५७ मत प्राप्त गरेका थिए ।
दोस्रो पटक एमाले र माओवादीको केन्द्रमा गठबन्धन फेरिए र एमाले कांग्रेसको गठबन्धन बनेपछि २०८१ असोज २ गते उनले दोस्रो पटक विश्वासको मत लिएका थिए । सो समयमा उनको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो ।
प्रदेशसभामा एमालेको ४०, नेपाली कांग्रेसको २९, नेपाली कम्युनिस्ट पार्टीको १७, राप्रपाको सभामुखसहित ५ र जसपा नेपालको १ जना सांसद छन् ।






