काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको हठका कारण कोशी प्रदेशमा नयाँ सरकार गठन अन्योलमा परेको छ । ओलीले पार्टीको कोशी प्रदेश संसदीय दलका नेताबाट हिक्मतकुमार कार्कीलाई बलजफ्ती हटाउन खोजेपछि अवस्था जटिल बनेको हो ।

ओलीसँगको भेटमा कार्कीले पार्टीको संस्थागत निर्णयबिनाको मौखिक निर्देशनका आधारमा मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान दोहोर्‍याएका छन्। उनले पार्टीको विधिसम्मत निर्णय भए त्यसलाई स्वीकार गर्ने, तर मौखिक आदेश वा अपमानित हुने गरी पद नछोड्ने स्पष्ट अडान राखेका हुन्।

ADVERTISEMENT

मंगलबार साँझ भक्तपुरको गुन्डुस्थित ओली निवासमा भएको एक्लाएक्लै भेटमा कार्कीले पार्टी कमिटीबाट निर्णय गरेर हटाउन भनेका थिए ।
स्रोतका अनुसार कार्कीले आफ्नो नेतृत्वमा रहेको सरकार परिवर्तन गर्नुपर्ने औचित्यमाथि नै प्रश्न उठाएका थिए। प्रदेश सरकारको कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहेको अवस्थामा आफूलाई किन हटाउन खोजिएको हो भन्ने जिज्ञासा उनले ओलीसमक्ष राखेका थिए।

‘अहिले केही महिना मात्रै बाँकी छँदा मैले मुख्यमन्त्री किन छोड्नुपर्‍यो ? म बदनाम बनेँ कि ? मैले केही काम गर्न सकिनँ कि ?’ कार्कीको भनाइ थियो ।

ADVERTISEMENT

यसअघि एमाले सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले ओलीको निर्देशन भन्दै कार्कीसँग राजीनामा मागेका थिए। त्यसबेला पनि कार्कीले संस्थागत निर्णयबिना राजीनामा नदिने अडान लिएका थिए।

मंगलबार नै अध्यक्ष ओलीले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीसँग पनि मुख्यमन्त्री परिवर्तनबारे छलफल गरेका थिए। ओलीले वर्तमान मुख्यमन्त्री कार्कीको स्थानमा तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने पार्टीको लाइन रहेको दोहोर्‍याएका थिए।  तर ओलीसँगको प्रत्यक्ष भेटमा पनि कार्की आफ्नो अडानबाट पछि नहटेपछि कोशीको नेतृत्व परिवर्तनको विषय अझ पेचिलो बनेको छ।