विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् ।
कार्कीले आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका हुन् । त्यसका लागि सम्पूर्ण तयारी भएको प्रदेशसभाका सचिव सुदर्शन खड्काले जानकारी दिए ।
एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच भएको तीन बुँदे सहमति अनुसार गएको सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहण भएको थियो । त्यसअगाडि नेपाली काँग्रेसले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन भदौ ३ गते नै फिर्ता लिएको पत्र संसद् सचिवालयमा दर्ता गरिसकेको छ । गएको साउन ९ गते भएको एमाले र नेकपाबिच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो ।
संविधानको धारा १६८ (५) अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री कार्कीले २०८१ वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।
त्यसबेला बैठकमा उपस्थित ६२ जना प्रदेशसभा सदस्यमध्ये ५७ जनाले कार्कीलाई विश्वासको मत दिएका थिए भने ५ जना भने तटस्थ बसेका छन् । उनलाई एमालेका उपसभामुख सहित ४०, तत्कालीन माओवादीका १३, एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए ।
एमाले र तत्कालीन माओवादीबिचको गठबन्धन टुटेर कांग्रेससँग गठबन्धन गरेपछि दोस्रो पटक मुख्यमन्त्री कार्कीले २०८१ असोज २ गते विश्वासको मत लिएका थिए । त्यसबेला कार्कीले राखेको विश्वासको मतको पक्षमा ६६, विपक्षमा १५ मत परेको थियो । मतदानमा ८३ सांसदले भाग लिएका थिए ।
कोशी प्रदेशसभामा ९२ सदस्य छन् । जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य रहेका छन् । यस्तै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाको सभामुखसहित ५ र जसपाका १ सांसद छन् ।






