काठमाडौं । नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्मृतिमा ‘प्रदीप गिरी फेलोसिप’ र ‘निष्ठामूलक असहमति’ पुरस्कारको घोषणा गरिएको छ।
शनिबार कांग्रेस केन्द्रीय कार्यालयमा गिरीको चौथो वार्षिक स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठान र प्रदीप गिरी इन्स्टिच्युटको संयुक्त पहलमा फेलोसिप र निबन्ध पुरस्कारको घोषणा गरिएको हो।
कांग्रेस सभापति गगन थापाले नेता गिरीको अध्ययनशील स्वभाव र सीमान्तकृत समुदायप्रतिको निष्ठालाई जीवित राख्न दुई फरक विधामा फेलोसिप प्रदान गरिने बताए। प्रदीप गिरी फेलोसिपलाई ‘विचार, अध्ययन र अनुसन्धान’ तथा ‘कर्म र न्याय’ गरी दुई पाटोमा विभाजन गरिएको उनले जानकारी दिए।
पहिलोमा विचार, अध्ययन र अनुसन्धान रहेको छ। यस विधाअन्तर्गत चार जना अध्येतालाई फेलोसिप प्रदान गरिनेछ। यसमा नेपाली राजनीति, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समावेशिता, दर्शन र साहित्यका क्षेत्रमा अनुसन्धान, पुस्तक लेखन तथा दस्तावेजीकरणका लागि सहयोग उपलब्ध गराइनेछ।
साथै, प्रदीप गिरीको व्यक्तित्व, मधेस दृष्टिकोण र उनको दार्शनिक जीवनमाथि गरिने शोधलाई प्राथमिकता दिइने प्रतिष्ठानले जनाएको छ। फेलोहरूले निश्चित पारिश्रमिक, सम्पादकीय मार्गदर्शन र पुस्तकालयको सुविधा प्राप्त गर्नेछन्।
दोस्रोमा कर्म र न्याय रहेको छ। यो विधाअन्तर्गत चार जना सक्रिय कानुन व्यवसायीलाई फेलोका रूपमा छनोट गरिनेछ। उनीहरूले एक वर्षसम्म कानुनी सहायता डेस्क सञ्चालन गरी जातीय विभेद, भूमि विवाद र नागरिकताबाट वञ्चित सीमान्तकृत एवं दलित समुदायका कम्तीमा २० वटा मुद्दामा निःशुल्क कानुनी पैरवी गर्नेछन्। यसको उद्देश्य व्यक्तिगत पीडालाई सार्वजनिक अभिलेखका रूपमा स्थापित गर्दै नीति निर्माणमा दबाब सिर्जना गर्नु रहेको थापाले बताए।
गिरीको राजनीतिक संस्कार र आलोचनात्मक चेतलाई सम्मान गर्दै कांग्रेसले ‘निष्ठामूलक असहमति’ शीर्षकमा वार्षिक निवन्ध पुरस्कारको समेत घोषणा गरेको छ। रचनात्मक आलोचना गर्दै लेखिएका उत्कृष्ट निवन्धलाई यो पुरस्कार प्रदान गरिने सभापति थापाले जानकारी दिए।
यो फेलोसिप कुनै राजनीतिक दलमा आवद्ध वा नभएका सबै योग्य नेपाली नागरिकका लागि खुला रहने जनाइएको छ। यसका लागि आगामी कात्तिक २४ गते अर्थात प्रदीप गिरीको जन्मजयन्तीदेखि आवेदन खुला गरिनेछ।
छनोट प्रक्रियालाई पूर्णतः निष्पक्ष बनाउन कुनै पनि राजनीतिक दलको बहालवाला पदमा नरहेका व्यक्तिहरू सम्मिलित एक स्वतन्त्र निर्णायक समिति गठन गरिने जनाइएको छ। मंसिर मसान्तभित्र फेलोहरूको छनोट गरिने र यो कार्यक्रम प्रत्येक वर्ष निरन्तर सञ्चालन हुने उनले बताए।






