हेटाैडा ।  बागमती प्रदेशमा गठन हुने नयाँ सरकारमा नेकपाका नेता सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन्। बागमती प्रदेशमा आज गठन हुने नयाँ सरकारमा नेकपाका नेता सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन्। सत्ता साझेदार नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच भएको मन्त्रालय बाँडफाँटअनुसार पौडेललाई उक्त जिम्मेवारी दिन लागिएको हो।

 पौडेल तत्कालीन नेकपा माओवादी पृष्ठभूमिका नेता हुन्।सहमति अनुसार नेकपाले सभामुखसहित दुई मन्त्रालय पाउने भएको छ। अर्को मन्त्रालयमा कसलाई पठाउने भन्ने औपचारिक निर्णय भने भइसकेको छैन। नेकपाबाट पूर्वयुवा तथा खेलकुदमन्त्री रमा आले मगरलाई मन्त्री बनाउने चर्चा पनि छ।

ADVERTISEMENT

सभामुख पदका लागि काभ्रेका रत्नप्रसाद ढकालको नाम चर्चामा रहे पनि निर्णय भइ सकेको छैन । तत्कालीन राप्रपाबाट सभामुख बनेका भुवनकुमार पाठकले गत भदौमा राजीनामा दिएपछि प्रदेश सभाको सभामुख पद रिक्त छ। उपसभामुख अप्सरा चापागाईंले भने निरन्तरता पाउने भएकी छन्।

ADVERTISEMENT

मन्त्रालय बाँडफाँटअनुसार एमालेले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय पाउने सहमति छ। नेकपाले आर्थिक मामिला तथा योजना र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय तथा राप्रपाले तीन मन्त्रालय पाउने सहमति भएको छ।

एमालेका किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन बुधबार एमाले, नेकपा र राप्रपाले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए। बिहीबार अपराह्न ४ बजेपछि मुख्यमन्त्रीसहित मन्त्रीहरूको नियुक्ति र शपथको तयारी गरिएको छ।

ADVERTISEMENT